arrow

माधव नेपालको हरेक प्रस्तावमा झलनाथ खनालको ‘अब्जेक्सन’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
NCP-united-socialist-madhav-nepal.jpg

काठमाडौं । एमालेबाट विभाजित भएको नेकपा एस पार्टीभित्र एमाले–माओवादी सहकार्यमा बनेको सरकारलाई विश्वासको मत दिने नदिनेमा विवाद देखिएको छ । एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल दिने पक्षमा रहेका छन् भने अर्को वरिष्ठ नेता झलनाथ खनाल दिन नहुने पक्षमा उभिएका छन् ।

इलाम क्षेत्र १ बाट पराजित भएका खनालले विश्वासको मत दिनुपर्ने पर्याप्त कारण नभएको भन्दै सचिवालय बैठकमा फरक धारणा राखेका थिए । ‘उहाँ पार्टी एकता गर्नु हुन्न, विश्वासको मत दिनु हुन्न भन्ने पक्षमा उभिनु भएको छ, स्थानीय तहको निर्वाचनपछि एमालेसँग सहकार्य गर्नुपर्छ भन्नुहुन्थ्यो, संसद्को निर्वाचनमा कांग्रेसलाई सहयोग गरेर जानुपर्छ भन्नु हुन्थ्यो, अहिले एमालेसँग जानै हुँदैन भन्नु हुन्छ, सरकारलाई पनि विश्वासको मत दिनुहुन्न भन्नुहुन्छ उहाँको कुरा बुझ्न गाह्रो भो’, एस पार्टीका एक पदाधिकारीले भने ।

राष्ट्रपतिको आकाङ्क्षी रहेका खनालले माधव नेपाल संसदीय दलको नेता बनेपछि एक पद एक व्यक्तिको कुरा उठाएका छन् । उनले आफू पार्टीको अध्यक्ष हुन पाउनुपर्ने धारणा पनि राख्न थालेको उनी निकट रहेका नेताहरूले बताएका छन् । स्थायी कमिटी सदस्यहरू मुकुन्द न्यौपाने,प्रमेश हमाल, राजेन्द्र पाण्डे लगायतले एमालेसँग सहकार्य गर्ने वा पार्टी एकता गरेर जानुपर्ने र त्यसका लागि माधव नेपालको राजनीतिक व्यवस्थापन गर्न एमाले पहल गर्नुपर्नेमा जोड दिएपछि खनालले माधव नेपालको हरेक प्रस्तावमा ‘अब्जेक्सन’ गर्न थालेको ती पदाधिकारीले दाबी गरे ।

पार्टीको सचिवालय बैठकले वाम एकताको पहल गर्न महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा वार्ता समिति बनाउने निर्णय गरेको समितिमा उपमहासचिव डा.गंगालाल तुलाधर,डा. विजय पौडेल र प्रकाश ज्वाला सदस्य राखेपछि पनि उनले पार्टी एकता को सँग गर्ने भन्ने स्पष्ट नभई वार्ता समिति गठन गरेको भन्दै आपत्ति जनाएका थिए । वार्ता समितिलाई विभिन्न वाम शक्तिहरूसँग छलफल गर्ने कार्यादेश दिइएको छ ।

एस पार्टीका अध्यक्ष नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर विश्वासको मत दिने सङ्केत दिइसकेका छन् । तर पार्टीभित्र खनालले छलफल नै नगरी विश्वासको मत दिने सङ्केत गरेकोमा पनि आपत्ति जनाएका थिए ।

 ‘अहिले आवश्यक छैन, माग्दै नमागेको विषयमा हामीले दिने कि नदिने भनेर छलफल गर्नु नै आवश्यक छैन’, खनालको भनाई उद्यृत गर्दै स्रोतले भन्यो । उता एस पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बिहीबार साँझ प्रचण्डलाई बालुवाटारमा भेट गरेर विश्वास मत दिने आश्वासन दिएको बताइन्छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रतिनिधिको रूपमा भेट गर्दे विश्वासको मत दिने बताएका हुन् ।

एस पार्टी निकट रहेको युवा सङ्घको एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले विश्वासको मत दिने नदिनेबारे अहिले केही नबताउने भन्दै ‘सन्पेन्स’मा रहेको जनाएका थिए । तर त्यसकै भोलिपल्ट बसेको सचिवालय बैठकमा भने अध्यक्ष नेपाल आफैले सरकारलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव राखेका थिए । सचिवालय बैठकमा अध्यक्षको प्रस्तावमा अधिकांश नेताहरूले समर्थन गरेका थिए ।

त्यसअघि बसेको पार्टीको पोलिटब्युरो बैठकमा प्रत्यक्षतर्फ जितेका अधिकांश सांसदहरूले सरकारमै जानुपर्ने बताएका थिए । किसान श्रेष्ठ, प्रेम आले, भानुभक्त जोशी, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला लगायतका सांसदहरूले सरकारमा जानुपर्ने धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ