arrow

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
nekapa-ekikrit-samajbadi.jpg
फाइल तस्वीर

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभरि फैलिएको आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।

पार्टी महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै आगलागीमा परेर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र उपचारमा सङ्घ, प्रदेश र स्थानीय सरकारलाई सक्रिय भएर लाग्न अनुरोध गरे ।

विज्ञप्तिमा भनिएको छ, “विगत केही समययता देशभरि आगलागी, डढेलो र तातो हावा (लू) लगायत घटनाबाट जनधनको व्यापक क्षति भएको छ । पछिल्लो एकसातामा देशभरि झन्डै एक हजारभन्दा बढी स्थानका जङ्गलमा आगलागी तथा डढेलो लागेको छ । डढेलो नियन्त्रणका क्रममा कैयन् सर्वसाधारण तथा सुरक्षाकर्मी हताहत भएका घटनाहरूले हामी सबैलाई दुखित र चिन्तित बनाएको छ ।”
 
महासचिव भुसालले तराई मधेस क्षेत्रमा र केही पहाडी भूभागहरूमा समेत तातो हावा लू चलिरहेकाले जनजीवन अस्तव्यस्त हुन सक्ने अवस्थालाई व्यवस्थापन गरी विपद् जोखिम न्यूनीकरणका साथै पीडित परिवारजनहरूलाई तत्काल उपचार, राहत र बसोबासको समेत यथोचित प्रबन्ध गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई आग्रह गरे । 

महासचिव भुसालले समयमै यस्ता विपद्हरूको तथ्याङ्क सङ्कलन गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा पहल गर्नुपर्ने उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ