arrow

तीन पाकिस्तानी अपहरणकारी २५ लाखबढी फिरौतीसहित बुढानीलकण्ठबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
pakistani-kidnapper.jpg

काठमाडौं। काठमाडौंबाट तीन जना पाकिस्तानी अपहरणकारी २५ लाख रुपैयाँ फिरौतीसहित पक्राउ परेका छन् । एक जना पाकिस्तानी युवालाई क्यानाडा पठाउने भन्दै काठमाडौं बोलाएर अपहरण गरी २५ लाख रुपैयाँ बढी फिरौती लिने तीन पाकिस्तानी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाकिस्तानको कसुरका ३० वर्षीय मुहम्मद रासिद, लाहोरका ३५ वर्षीय मुहम्मद आसिफ र पाक्पात्तनका ३५ वर्षीय मुहम्मद फिदा हुसैन छन् । उनीहरू तीनै जना काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ मा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत रोजगारीका लागि क्यानाडा जान नेपालबाट सजिलो हुने भन्दै पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल बोलाई ठमेलस्थित होटलमा बस्न लगाएका थिए ।

उनीहरुले खानलाई पुस २४ गते बायोमेट्रिक लगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर बन्धक बनाएका थिए । 

त्यसपछि अपहरणकारीहरुले पाकिस्तानमा रहेका पीडितका भाइलाई अब मेरो क्यानाडाको लागि फ्लाइट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएका थिए । 

३० घण्टापछि अपहरणकारीहरुले पुनः म क्यानाडा पुगेँ, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाएर पीडितको भाइबाट रकम मगाएका थिए ।

दाजुको म्यासेज आएपछि पीडितका भाइले पाकिस्तानमा ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार यूएई दिरामसमेत गरी नेपाली रुपैयाँ २५ लाख ६६ हजार ६९७ रकम पठाएका थिए । सोपश्चात् पीडितलाई पुस २६ गते राति ट्याक्सीमा राखी सिनामंगलस्थित सडकमा पाकिस्तान फर्कनु भनी छाडी अपहरणकारीहरु फरार भएका थिए ।

पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी परिसर काठमाडौंसँगसमेत समन्वय गरी अपहरणमा संलग्न व्यक्तिहरूको खोजतलास थालेको थियो ।

सो क्रममा घटनामा संलग्न उनीहरूलाई घटनामा प्रयोग गरेका सामानसहित पुस २८ गते बूढानीलकण्ठ–४ स्थित भाडाको घरबाट पक्राउ गरेको हो। उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अर्न्तगत अपहरण र शरीर बन्धक गरेको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले थप अनुसन्धान गरी अपहरणकारीहरुविरूद्ध मुद्धा चलाउने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ