- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको आजको दोश्रो खेलमा गण्डकी प्रदेश पराजित भएको छ । गण्डकी सुदूरपश्चिम प्रदेशसंग पराजित भएको हो ।
गण्डकीले दिएको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा मात्रै एक विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि विन्दु रावलले नटआउट ४६ रन बनाइन् ।
पहिले ब्याटिङ गरेको गण्डकीका लागि सीमाना जैसीले सर्वाधिक १३ रन बनाइन् । सुदूरपश्चिमकी मनिषा चौधरीले चार विकेट लिइन ।
समूह ‘ए’ मा सुदूरपश्चिम दुई अङ्कसहित दोस्रो स्थानमा र गण्डकी अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।
यसैगरी आजै भएको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई हराएको छ । इटहरीमा हुस्सु लागेका कारण नौ ओभरमा झारिएको खेलमा प्रदेश १ ले लुम्बिनीलाई नौ रनले हरायो ।
प्रदेश १ ले दिएको ६० रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले सात विकेट गुमाएर ५० रनमात्रै बनायो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३१ रन बनाउनुबाहेक अरू कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् । प्रदेश १ की संगीता राईले तीन विकेट लिइन ।
यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ का लागि काजल श्रेष्ठले २१ र रुबिना क्षेत्रीले १७ रन बनाइन् । लुम्बिनीकी कृतिका मरासिनी, सरस्वती पुन र विभासना बिसीले एक/एक विकेट लिइन् ।
जितसँगै प्रदेश १ समूह ’बी’ मा चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । लुम्बिनी दुई अङ्कसहित दोस्रो स्थानमा छ ।
प्रतियोगितामा सात प्रदेश तथा एक विभागीय गरी आठ टोलीले खेल्दैछन् । विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।