- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। इटालीको 'मोस्ट वान्टेड माफिया बोस' माटेओ मेसिना डेनारोलाई सोमबार सशस्त्र प्रहरीले सिसिलीको एक निजी अस्पतालबाट पक्राउ गरेको छ। सन् १९९३ देखि फरार रहेका मोस्ट वान्टेड माटेओ मेसिना डेनारो त्यहाँ क्यान्सरको उपचार गराइरहेका थिए।
'डायबोलिक' र 'यू सिक्कु'(एक पातलो) उपनाम रहेका मेसिना डेनारोलाई सन् १९९२ मा माफिया विरोधी अभियोजक जियोभन्नी फाल्कोन र पाओलो बोर्सेलिनोको हत्यामा आजीवन कारावासको सजाय सुनाइएको थियो।
सो घटनाले इटालीलाई स्तब्ध बनाएको थियो भने, कोसा नोस्ट्रामा क्र्याकडाउन चर्किएको थियो।
६० वर्षीय मेसिना डेनारोलाई पालेर्मोको 'ला मडालेना' अस्पतालबाट दुई वर्दीधारी क्याराबिनेरी पुलिसले लगेर कालो मिनिभ्यानमा राखेका थिए। उनले खैरो फर लाइन भएको ज्याकेट, चश्मा र खैरो र सेतो ऊनी टोपी लगाएको थिए।
न्यायिक स्रोतका अनुसार गत वर्ष उनको शल्यक्रिया भएको थियो र उनले झुटा नामले अस्पतालमा उपचार गरिरहेका थिए।
पालेर्मोका अभियोजक मौरिजियो डे लुसियाले भनेका छन्,'हामीसँग अनुसन्धानको सुराग थियो र आजको गिरफ्तारीसम्म त्यसलाई नै पछ्याइयो।'
मेसिना डेनारोको अनुसन्धानको नेतृत्वमा समेत रहेका म्याजिस्ट्रेट पाओलो गुइडोले वर्षौँको कामको नतिजामा पुग्नका लागि उनका संरक्षकहरूको नेटवर्कलाई भत्काउनु महत्त्वपूर्ण रहेको बताए।
मेसिना डेनारोलाई अस्पताल पुर्याउने दोस्रो व्यक्तिलाई पनि फरार व्यक्तिलाई सहयोग गरेको आरोपमा घटनास्थलमा पक्राउ गरिएको थियो।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी माफिया बोसको पक्राउपछि प्रहरी प्रमुखहरूलाई बधाई दिन सिसिली पुगेकी थिइन्।
'हामीले युद्ध जितेका छैनौँ, हामीले माफियालाई पराजित गरेका छैनौँ तर यो लडाई जित्ने मुख्य लडाई थियो र यो सङ्गठित अपराधको लागि ठूलो प्रहार हो,' उनले भनिन्। हत्या गरिएका न्यायाधीशकी बहिनी मारिया फाल्कोनले त्यो भावनालाई प्रतिध्वनित गरिन्।