arrow

विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
Dol-prasad-aryal.jpg
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल।

काठमाडौं। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरूलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताए । 

उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । “नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ”, उनले भने। 

स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उनले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । 

“दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ”, उनले भने, “त्यसको निराकरणका लागि मैले काम गर्छु ।” मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ । “बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ