arrow

सभामुखको मनोनयन :  

एमालेले घिमिरेलाई अघि सार्‍यो, यस्तो छ निर्वाचन तालिका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
parliament_of_nepal.png

 काठमाडौं । सत्ताको भागबण्डामा नेकपा एमालेले सभामुख पद पाउने भएसँगै सभामुखमा सत्तारूढ गठबन्धनबाट एमालेले देवराज घिमिरेलाई अघि  सारेको छ । 

झापा-२ बाट निर्वाचित सांसद घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज हुने  मनोनयनमा एमालेबाट घिमिरेको नाम जानेछ  । 

 घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा रहने छन्।  सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति भएको थियो। 

एमालेभित्र सभामुखमा पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा तथा विद्या भट्टराईको नाम चर्चामा थियो। तर उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई रोक्न महासचिव शङ्कर पोखरेलले झापाका पुराना नेता देवराज घिमिरेलाई अघि सारेका हुन् । नेपाली कांग्रेस लगायतका अन्य दलले सभामुखको उम्मेदवार टुङ्गो लागाउँदै छन्।

आज  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताअनुसारको सूची आजै अपराह्न ४.१५ बजे प्रकाशित गरिने छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुने तय भएको छ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यस लगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ