धौलागिरिमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि भेटियो
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
893
Shares
धौलागिरि । पर्वतीय पदयात्राका क्रममा धौलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ ।
‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धौलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र सोलुखुम्बुका २७ वर्षीय बालकुमार कार्कीको शव फेला परेको हो ।
पर्वतीय पर्यटन व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को पहलमा फोर सिजन माउण्टेन ट्रेक्सले गत असोज २१ गते धौलागिरि हिमालको खरपासमा खसेर बेपत्ता भएकामध्ये कार्कीको शव बुधबार काठमाडौँ ल्याइएको हो ।
मृतक लामाको शव भने फेला परे पनि ल्याउन समस्या भएको फोर सिजन माउण्टेन ट्रेक्सका सञ्चालक बसन्त लिम्बूले जानकारी दिए । हिमपात भएको बेला बेपत्ता बनेका कार्की र लामाको शव हिउँ पग्लँदै गएपछि फेला परेको हो ।
कार्कीको शव एयर डाइनेष्टिक हेलिकप्टरमार्फत पोखरा ल्याई त्यहाँबाट शव बाहनमार्फत काठमाडौँ ल्याइएको टानका अध्यक्ष निलहरि बाँस्तोलाले जानकारी दिए ।
यस्तै, लामाको शव ल्याउनका लागि आज बिहानैदेखि प्रयास भइरहेको उनको भनाइ छ । मृतक कार्कीको शवलाई हाल शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।