arrow

नवप्रवर्तन र लगानीकर्ता जोड्न नेपालमै पहिलो पटक 'नेशनल इन्नोभेसन सम्मेलन' हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
nast-national-innovation-conference.jpg

काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नेपालमै पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन (नेशनल इन्नोभेसन कन्फरेन्स)को आयोजना गरेको छ । यसै माघ १० गते ललितपुरको खुमलटारस्थित नास्टमा प्रतिष्ठानले द एसिया फाउन्डेसन र यूके एडसँगको सहकार्यमा सम्मेलनको आयोजना गरेको हो।

नास्टले सम्मेलनमा विज्ञान, प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचाङ्क तथा राष्ट्रिय नवप्रवर्तन सूचाङ्क जस्ता विषयमा छलफल हुने बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहने सम्मेलनले कुनै पनि नयाँ इन्नोभेसनहरुलाई लगानीकर्ता, सरकार र बजारसँग जोड्ने काम गर्ने अपेक्षा नास्टले गरेको छ। सम्मेलनले प्राज्ञिक क्षेत्र, सरकार र सेवा क्षेत्रमा क्रियाशील अभ्यासकर्तालाई एक ठाउँमा ल्याउनेछ। 

देशमा अनुसन्धान र विकासलाई बढावा दिन, दिगो विकास लक्ष्य हासिल गर्न, नवप्रवर्तनका प्रतिभाहरूलाई एक स्थानमा ल्याउन तथा उनीहरूको भूमिकालाई विस्तार गर्न र विश्व नवप्रवर्तन सूचाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन राष्ट्रिय नवप्रवर्तन सम्मेलन आवश्यक रहेको नास्टले जनाएको छ।

यस बिषयमा शुक्रबार ललितपूरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नास्टका वरिष्ठ प्राविधिक अधिकृत
रवीन्द्रप्रसाद ढकालले पहिलो पटक आयोजना गर्न लागेको सम्मेलनले प्रविधि क्षेत्रमा नवपर्वतनलाई थप उर्जा प्रदान गर्ने बताएका छन्।

सम्मेलनका क्रममा नवप्रवर्तनको क्षेत्रमा क्रियाशील प्रतिभा प्रदर्शनका साथै नवप्रवर्तक र लगानीकर्तालाई प्रोत्साहन गरिने उनले बताएका छन्।

माघ १० गते हुने एक दिने यो सम्मेलन भर्चुअल तथा भौतिक उपस्थिति दुवैको मिश्रित ढाँचामा सञ्चालन हुनेछ । सम्मेलनका क्रममा प्यानल डिस्कसन, विज्ञहरूको प्रस्तुति तथा अन्य प्रदर्शनीहरू रहनेछन्।

प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यता रहने कार्यक्रममा यूएनडीपीका आवासीय प्रतिनिधि आयश्नी मेडागाङ्गोडा(ल्याबे विशिष्ट अतिथि रहने नास्टले जनाएको छ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकूलपति डा. भोला थापा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य, रिकास्टका पूर्व कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारी वक्ताको रूपमा रहनेछन्।

यसका साथै अन्य वक्तामा योङ्ग इनोभेसन ल्याबका सीईओ विभुषण विष्ट, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। गोविन्दराज पोखरेल, महिला उद्यमी महासङ्घकी अध्यक्ष निरु रायमाझी खत्री, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्राध्यापक डा गोविन्द नेपाल, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नास्टका प्राज्ञ डा। रमेशकुमार मास्के, राष्ट्रिय आविष्कार केन्दरका अध्यक्ष महाबीर पुन, एफवान सफ्टका सीईओ सुवास शर्मा, नास्टका प्रविधि सङ्काय प्रमुख डा. रविन्द्र ढकाल लगायत रहेका छन्।

पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलनले सरकार, उद्योग र शैक्षिक क्षेत्रका व्यक्तिहरूलाई एकै स्थानमा ल्याउने उद्देश्य राखेको छ। सम्मेलनले सिकाइ आदानप्रदान गर्नुका साथै छलफल तथा सम्वाद वृद्धि गर्न र सरोकारवालाहरूबीच नीतिगत सल्लाह सुझाव लेनदेनको मौका नास्टको विश्वास छ। सम्मेलन स्थलमा सातै प्रदेशबाट प्रतिनिधित्व गरेका विभिन्न २० ओटा नवप्रवर्तनको प्रदर्शनी समेत हुने नास्टले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ