arrow

टाइगर कप भलिबल : विभागीय टोलीहरुको जीत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
gandaki.jpg

पोखरा । तेश्रो टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टोलीहरु विजयी भएका छन् । 

पोखरा रंगशालामा जारी प्रतियोगितामा नेपाल आर्मीले विदेशी पाहुना टोली सेन्टजोसेफ वाज स्पोर्टस् क्लव श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको हो ।

आर्मीले श्रीलंका विरुद्ध २५-२०, २५-१६ र २५-१० ले जित निकालेको हो । जितसंगै आर्मीले तीन अंक प्राप्त गरेको छ । 

अर्को खेलमा एपिएफले पुलिस विरुद्ध जित निकाल्दै तीन अंक प्राप्त गरेको छ । योसंगै एपिएफले दुई खेल लगातार जित्दै ६ अंक बटुलेको छ ।

पुलिस विरुद्ध एपिएफले २५-२१, २१-२५, २५-२१ र २५-१८ ले जितेको हो ।  

महिलातर्फ एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । एपीएफले गण्डकी विरुद्ध २५-११, २५-१९ र २५-१६ ले जितेको हो । 

प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको छ । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपीएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता छ । 

पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गण्डकी प्रदेशले सहभागिता जनाएको छ ।

महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच/पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै, प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

महिला र पुरुषतर्फ उत्कृष्ट एक/एक खेलाडीलाई जनही रु २५ हजार र विधागतरुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिनेछ ।

गत वर्ष भएको दोस्रो संस्करणको उक्त प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफले जितेको थियो ।



नयाँ