arrow

गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु मुख्य जिम्मेवारी : मन्त्री गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
Padam Giri minister.jpg

पर्वत । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो मुख्य जिम्मेवारी भएको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन कार्यक्रममा उनले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरीब जनतासम्म पुग्न नसकेको उल्लेख गरे । 

स्वास्थ्य सेवाको पहुँच विस्तार गरी दूरदराजका नागरिकलाई पनि सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले भने, “देशमा अहिले स्वास्थ्य सेवा सीमान्तकृत जनतासँग, गरीब जनतासँग पुग्न सकेको छैन । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न हामी एकताबद्ध भएर लाग्नुपर्छ ।” 

अहिले पनि आर्थिक अभावका कारण उपचार नपाएर धेरै नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताउँदै मन्त्री गिरीले नीतिगत सुधार गरेर त्यस्तो अवस्था न्यूनीकरण गर्ने प्रतिबद्धतासमेत जनाए । उनले भने, “संरचनागत सुधार र व्यवस्थापकीय सुधार गरेर अघि बढ्नेछौँ तर उपचार नपाएर अकालमा मर्नुपर्ने बाध्यता हुनुहुँदैन ।”

सरकारी अस्पतालका ल्याब चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै मन्त्री गिरीले यस्ता समस्या समाधान गरेर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने बताए । उनले बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा लाग्ने पनि बताए । मन्त्री गिरी स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने योजना बनाएको पनि बताए ।

अर्को प्रसङ्गमा मन्त्री गिरीले मङ्गलबार दिउँसो राजधानीमा गरिएको आत्मदाहको घटनाले सिङ्गो मुलुकको ध्यानाकर्षण भएको बताए । अहिलेसम्म विकास बजेट १५ प्रतिशतभन्दा बढी खर्च नभएकोमा सरकारको ध्यानाकर्षण भएको बताउँदै उनले अब धमाधम विकास निर्माणका कामलाई गति दिइने पनि बताए । 

समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको हो । महोत्सवमा दुई सय ५० वटा स्टल राखिएका छन् । यस पटक स्थानीय व्यवसायीलाई ५० प्रतिशत छुटमा स्टल सुविधा दिइएका कारण स्थानीय व्यवसायीले नै बढी स्टल लिएका छन् । 

महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबार गर्ने अपेक्षा लिइएको छ । समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसार, पर्वत जिल्लामा उत्पादित वस्तुको प्रवर्द्धन र प्रचारप्रसार, लोक संस्कृतिको संरक्षण र सम्वर्द्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यवसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने महोत्सवको उद्देश्य रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ