arrow

देवशीला गोरखपुरमा, आज अयोध्या पुर्‍याइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
dev-shila-nepal-india.jpg

काठमाडौं । भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शीला मङ्गलबार राति गोरखपुर ल्याइपुर्‍याइएको छ । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शीला अयोध्यातर्फ पठाइएकामा गए राति यहाँ पुर्‍याइएको हो । 

जानकी मन्दिरका महन्थ रामपतेश्वर दासका अनुसार शीला आज अयोध्या पुर्‍याएर विशेष समारोहका बीच मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गरिने छ । हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारका रूपमा मान्ने शीलाबाट भगवान् रामको बालस्वरुपसहितको मूर्ति बबनाइने भएपछि यहाँका लाखौँ श्रद्धालुले बाटोमा निस्केर दर्शन तथा अभिनन्दन गरिरहेका छन् । 

'जनकपुरधाममा पनि श्रद्धालुले उल्लासका साथ शीलाको दर्शन गरे, भारतीय सीमा प्रवेशदेखि बाटोमा झन् नयाँ उत्साह र उमङ्ग देखियो', दासले भने, 'नेपाल र भारतवासीको भगवान् राम तथा शीलाप्रतिको आस्था एवं श्रद्धा देखेर नतमस्तक छु ।'

त्यसैगरी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देवशीलाको आदान-प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन अतुलनीय योगदान पुगेको आभास आफूले गरेको बताए । 

'त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल-भारतबीचको सम्बन्धलाई कसिलो गरी जोडेको थियो, कालीगण्डकीबाट ल्याइएको यो शीलाले त्यसलाई पुनः नवीकरण गरेको आभास भएको छ', उनले भने, 'राममन्दिर राखिने मूर्ति नेपालको देवशीलाबाट बन्ने कुराले दुई देशबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व झन बढेको छ । बाटोमा स्वःस्फूर्त निस्केका श्रद्धालुको उपस्थितिले त्यसको महत्वलाई थप उचाइमा पुर्‍याएको छ ।'

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका-६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शीला माघ १५ गते जनकपुरधाम पुर्‍याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपालीको सहभागिता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ