- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशको स्थापना दिवसमा पोखरामा गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ ।
प्रदेश खेलकुद परिषदको शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए ।
“नेपालको राष्ट्रिय खेल भलिबल भएका कारणले पनि हामीले प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका छौं । यो प्रतियोगिताले खेलाडी उत्पादनसंगै प्रदेशका उत्कृष्ट खेलाडीहरुको छनोट गर्न सहयोग पुग्ने छ”, उनले भने ।
प्रतियोगिताको तयारीका लागि बैठकले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
समितिमा प्रदेश खेलकुदका सदस्य विष्णुमाया गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ र महासचिव तहल सिंह थापा मगर छन् ।
प्रतियोगिताकासंयोजक क्षेत्रीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता गराइने जानकारी दिए ।
उनले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने महिला तथा पुरुष टिमलाई क्रमशः नगद एक लाख ५० हजार, एक लाख र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए ।
प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही नगद रु २०/२० हजार तथा विद्यागत रुपमा महिला तथा पुरुष खेलाडी ५/५ जनाले जनही नगद रु १०/१० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।