arrow

रविको अभिव्यक्ति निन्दनीयः प्रेस युनियन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २२ आइतबार
Nepal-Press-Union-600x300.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल प्रेस युनियनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्ति निन्दनीय भएको बताएको छ । युनियनका महासचिव दिलिप पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै संसद्को चौथो ठूलो दलका सभापतिले आफ्ना कमी–कमजोरी ढाकछोप गर्न सञ्चारमाध्यम, सञ्चारकर्मी र समग्र पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको भन्दै घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पत्रकारिता क्षेत्रले पञ्चायतकाल, २०४६, २०६२–६३ को राजनीतिक परिवर्तन गर्न ठूलो जोखिम मोलेर मुलुकको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिका सबैलाई अवगत छ । मिडियाले मुलुकमा भएका ठूला–ठूला भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् ।’

युनियनले विज्ञप्तिमा अगाडि भनेको छ, ‘पूर्व सञ्चारकर्मी लामिछानेले कुनै आधार र प्रमाण बिना सञ्चारमाध्यम, सम्पादक र समग्र पत्रकारितालाई बद्नाम गर्ने गरी दिएका अभिव्यक्ति खेदजन्य छन् । आमनागरिकबाट जनमत प्राप्त गरेर आएका एक राजनीतिकर्मीले दिएका अभिव्यक्ति अपरिपक्व र अराजनीतिक छन् भन्ने बुझाइ युनियनको छ ।’

‘लामिछाने जो आफैं सञ्चारकर्मबाट जनताका मुद्दा उठाएर परिचित भएपछि मात्र यो स्थानमा पुगेका हुन् । सञ्चारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले पत्रकारितालाई दुस्मनको जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय छ । एउटा परिपक्व राजनीतिकर्मीबाट यस्तो धम्कीपूर्ण भाषा प्रयोग हुने कल्पनासमेत गर्न सकिँदैन । प्रमाणहीन आरोप लगाएर नेपाली सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठाउने काम नगर्न युनियन आग्रह गर्दछ । सञ्चार माध्यमले प्रकाशन गरेका सामग्रीको बारेमा चित्त नबुझे कानूनी उपचारमा जान सक्ने विकल्प हुँदाहुँदै सञ्चारमाध्यमकै मानमर्दन गर्नु निन्दनीय छ’, युनियनले भनेको छ । 
 
युनियनले विज्ञप्तिमा, ‘नेपाली राजनीति र समाजका अन्य सबै क्षेत्रमा कमजोरीहरू छन्, त्यसमा सञ्चारमाध्यम पनि अछुतो नहोला । पत्रकारिताका कमी, कमजोरीलाई विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने मान्यता युनियनले राख्छ । मुलुकको नेतृत्व लिएर सुधार गर्ने प्रतिवद्धतासहित आएका राजनीतिकर्मी र सञ्चारमाध्यमलाई दोषारोपण गरेर आफू चोखिन खोज्नु साह्रै दुःखद पक्ष हो । लामिछानेको नागरिकताको विषयमा सञ्चारमाध्यमले जनतासम्म सूचना पुर्याएकोमा आक्रोश पोखेको देखिन्छ । अदालतको फैसला अनुसार उनले गैरकानूनी रूपमा राखेको नागरिकता मात्रै नभएर समाजमा विद्यमान अन्य बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको विषयमा नेपाली प्रेस अझै दृढ रूपमा प्रस्तुत हुने अठोटसमेत व्यक्त गर्दछौं’ भनेको छ । 

प्रेस युनियन विधिको शासन, लोकतन्त्र, प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारितामाथि विश्वास राख्दछ भन्दै युनियनले अपरिपक्व, गैरजिम्मेवार अभिव्यक्ति नदिन, जवाफदेही राजनीतिकर्मीको रूपमा आफ्ना विचार राख्न, पत्रकारिता क्षेत्रलाई सम्मान गर्न आग्रहसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ