arrow

‘पासपोर्टमा फसाइयो’ को भाष्य निर्माण प्रयास गर्दै रवि लामिछाने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
rsp-ravi-press-meet.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आइतबार गरेको पत्रकार सम्मेलनमा सञ्चार माध्यम पहिलो तारोमा परेको थियो । सामाजिक सञ्जाललाई पनि उनले तारो बनाएका थिए। यही क्रममा उनले बारम्बार ‘पासपोर्टमा फसाउने’ भन्ने दुई शब्द प्रयोग गरिरहेका थिए ।

उनले सञ्चार माध्यम र सामाजिक सञ्जाललाई तारो बनाइरहँदा ‘अब मलाई पासपोर्टमा फसाउँछन्’ भनेर बारम्बार भनिरहेका थिए । उनले आफूलाई पासपोर्टमा फसाउने भाष्य निर्माण गर्न भरमग्दूर प्रयास गरेका हुन् । उक्त प्रेस भेटघाटमा आफू चक्रब्युँहमा पर्ने अभिमन्यु नहुने पनि भने ।

रविले मिडियाका कमीकमजोरी खोतल्ने क्रममा खुलेर मिडिया सञ्चालक र सम्पादकहरूलाई गाली गर्न भ्याएका थिए । त्यसैगरी मिडियाको हेडलाइनले प्रधानमन्त्री पनि डराएको आफूले देखेको पनि खोल्न भ्याए ।

यही क्रममा उनले मिडियाका कमीकमजोरीहरू रहेको कुरा सही पनि थिए भने । केही आरोपहरू उनले आवेगमा लगाएको प्रस्ट देखिन्थ्यो । उनले आफैँले मनका सबैकुरा निकाल्न पाउँदा आफ्नो मन शान्त भएको पनि बताएका थिए ।

उनले सञ्चार माध्यममा आफूविरुद्ध समाचार आए मान्छेहरू लिएर गएर घेर्नेसम्मको अभिव्यक्ति दिए । उक्त अभिव्यक्ति उनको आवेग मात्र हो वा उनी सञ्चार मध्यमप्रति अनुदार नै हो भन्ने स्पष्ट भइसकेको छैन । उनका पार्टीका अरू नेताहरूले उक्त कुरालाई स्पष्ट पार्ने दायित्व रहेको छ। उनको सञ्चार मध्यम घेर्ने प्रतिक्रिया लोकतन्त्रमाथि खतराको संकेतका रूपमा पनि लिन सकिन्छ ।

रवि आफैँ लामो समय सञ्चारकर्मी रहेका थिए र उनी आफ्नो सञ्चारकर्मका कारण जनतामाझ लोकप्रिय रहेका थिए। त्यही लोकप्रियाताको बलमा पार्टी खोलेर प्रतिनिधि सभाको चौथो ठूलो दल भएको उनको पार्टी सरकारमा उपप्रधान र गृहमन्त्रीसहित प्रवेश गरेको थियो ।

तर नागरिकतामा आफ्नै गल्तीका कारण सांसद पद गुमाएका रविले आफ्नो रिस भने मिडियामा पोखे । यही  क्रममा उनको पासपोर्ट पनि विवादित बनेको छ । उनले अमेरिकी नागरिक रहेकै बेलामा नेपाली पासपोर्ट बनाएका थिए । उनले अमेरिकी नागरिककै हैसियतमा २०७२ जेठ १३ मा निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेर नेपाली राहदानी निकालेका थिए । प्रहरीमा उनको नागरिकता र राहदानी लगायतका विषयमा अनुसन्धानका लागि निवेदन दर्ता भइसकेको छ ।

यही अनुसन्धानलाई प्रभावित पार्न नै उनले गृहमन्त्रीको पद रोजेको भनेर उनको विरोध भएको थियो । उनी गृहमन्त्री हुनु स्वार्थको द्वन्द्व हुने भन्दै उनीमाथि प्रश्नहरू तेर्सिएको थियो । यस्तै प्रश्नहरूले उनलाई मनमा चोट परेको रहेछ भन्ने उनको प्रेस सम्मेलनमा प्रस्ट देख्न सकिन्थ्यो । 

अनुसन्धान गरिरहेका नेपाल प्रहरी, अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय तीन ओटै निकाय गृह मन्त्रालय अन्तर्गत पर्ने हुनाले अनुसन्धान प्रभावित हुनसक्ने भन्दै ‘स्वार्थको द्वन्द्व’ का बारेमा कुरा उठे पनि उनी र उनको पार्टीले जवाफ दिनुपर्ने भन्ने कहिल्यै ठानेन । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले विदेशी नागरिक बनेको मितिमै नेपाली नागरिकता स्वतः निष्क्रिय हुने आदेश जारी गरेसँगै उनको सांसद पदसँगै गृहमन्त्री पदसमेत गएको थियो ।

रविले आइतबार गरेको पत्रकार सम्मेलनमा उनलाई पासपोर्टमा फसाउन मिडियाहरू लाग्छन् भनिरहे । उनले यो बारम्बार भनिरहँदा उनले अनुसन्धान पछि आफ्नोविरुद्ध फैसला हुने डरले ‘पासपोर्टमा फसाउने’ भाष्य निर्माण गर्ने प्रयास गरेका छन् । उनका समर्थकले उनलाई फसाइयो भनिरहँदा अनुसन्धान प्रभावित हुनसक्छ र मुद्दा कमजोर गर्न पाइने आँकलन गरेका छन् ।

पासपोर्टमा उनलाई फौजदारी अभियोग अन्तर्गत सजाय भयो भने उनी कहिल्यै पनि सांसद हुन नपाउने हुन्छन् । यही डरले पनि अनुसन्धान लम्बाउन र कमजोर बनाउन उनले ‘पासपोर्टमा फसाइयो’ भन्ने भाष्य निर्माण गर्न लागेको आशंका रहेको छ।  अमेरिकी नागरिक भएकै अवस्थामा नेपाली राहदानी बनाउने रविको गतिविधिले राहदानी ऐन २०७६ आकर्षित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ