arrow

एमालेलाई पहिलो विफलता, कांग्रेसको नेतृत्वमा नयाँ सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २६ बिहिबार
sudurpachhim-pradesh-sabha-farwestern-province.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका छन् । 

बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन रहेकोमा प्रदेश सभा बैठकमा रावलले विश्वासको मत प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।
पुस २७ मा एमालेका १० माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।  

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्नेमा सरकार गठन भएको एक महिनामै सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि सुदूरपश्चिमबाट सात दलीय गठबन्धनको सरकार ढलेको हो । 

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह छन् । अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ ।  संविधानको धारा १६८ (२०)  अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुँदैछ । 

संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् भनिएको छ ।

यसैबीच रावलले राजीनामा बुझाइसकेका छन् । 

यो समीकरणले सत्ता गठबनधनलाई पहिलो झड्का लागेको छ भने कांग्रेसले सफलता पाएको छ । गत पुस १० गते तत्कालीन गठबन्धन तोडेर संघीय सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग मिलेर नयाँ सरकार गठन गरेका थिए । 

सोही अनुसार प्रदेशमा पनि एमालेसँग मिलेर समीकरण बन्दा कांग्रेस बाहिरिनु परेको थियो । तर अहिले आएर कांग्रेसले सुदूरपश्चिमबाट यात्रा शुरु गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ