arrow

'वाचा होइन महसुस हुने गरी काम गरौँ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
dhanraj-gurung-syangja.jpg

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले जनतामाझ वाचा नभई महसुस दिलाउने गरी काम गर्नुपर्ने बताएका छन् ।

स्याङ्जाको वालिङमा सोमबार आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महायज्ञ–२०७९ को उद्घाटन गर्दै उनले वाचाभन्दा पनि जनताले महसुस हुने काम वा परिवर्तन चाहेको बताएका हुन् ।

“जनतामाझ जे गर्न सकिन्छ त्यही मात्रै बोल्नुपर्छ र बोलेका कुरा पूरा पनि गर्नुपर्छ”, उनले भने, “जनतालाई झुटा आश्वासन मात्रै बाँड्नु हुन्न भन्ने पक्षमा म छु, जे गर्नसक्छु त्यही बोल्छु, नसक्ने बोल्दिनँ ।”

जनताले नेतृत्वबाट महसुस हुने गरी देखिने गरी परिवर्तनको अपेक्षा गरेकाले जनताका चाहनालाई सकिने जति सम्बोधन गर्नुपर्नेमा उनको जोड छ । “म जनतामाझ कुनै वाचा गरेर जान्नँ, केही वाचा गर्दिनँ”, उनले भने, “जे सक्छु त्यो महसुस दिलाउने र देखिने गरी गर्छु, त्यो काम सकिएपछि मात्रै देखिन्छ ।”

उनले आमासमान रहेकी गौमाताको संरक्षण गर्नका लागि आयोजना गरिएको महायज्ञको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नोतर्फबाट जे सकिन्छ त्यही सहयोग गर्ने बताए ।

गण्डकी प्रदेशसभा सदस्यहरू भोजराज अर्याल, सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, महेश भट्टराई, पूर्वसांसद शङ्करप्रसाद पाण्डे, वालिङ नगरप्रमुख कृष्ण खाँण, गण्डकी प्रदेशसभाका पूर्वसदस्य मोहन रेग्मीलगायतले व्यवस्थित गौशाला सञ्चालनका लागि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

बढ्दो आधुनिकतासँगै गाईपालनतर्फ रुचि हराउँदै गएकाले गौमाताको संरक्षण गर्ने मुख्य उद्देश्यसहित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम वालिङ–८ काफलडाँडाले महायज्ञको आयोजना गरेको हो ।

बाटोघाटोमा गाईलाई छाडा छोडिदिँदा सम्भावित सवारी दुर्घटनाका साथै खेतबारीमा बालीनाली खाइदिने समस्या भएपछि गाईको संरक्षण तथा व्यवस्थापनका लागि महायज्ञ सञ्चालन गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीपप्रताप खाँणले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ