arrow

हेमजाका सापकोटा दम्पतीको एक महिनापछि अन्त्येष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
Yeti plane.jpg

पोखरा ।  पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा-२५ हेमजाका एक दम्पतीको एक महिनापछि सोमबार अन्त्येष्टि गरिएको छ । 

दुर्घटनामा ज्यान गुमाएका हेमजा हनुमानचोक निवासी राजन सापकोटा र उनका श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो । अनिषाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाइ भएको हो । राजनको शव माघ ८ गते काठमाडौँमा शवपरीक्षणबाट पहिचान भए पनि अनिषाको पहिचान गर्न डिएनए गरिएको थियो ।

डिएनएको रिपोर्ट आइतबार प्राप्त भएपछि काठमाडौँबाट राति शव ल्याएर बिहान शवयात्रासहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । उनहरुको सोमबारदेखि नै काजकिरिया सुरु भएको र दाजु किरिया बस्नुभएको बताइन्छ ।

डिभी परेर अमेरिका बस्दै आएका राजन गत वर्ष विवाह गरेर फर्किएका थिए । विवाहको पहिलो वार्षिकोत्सव मनाउन उनी पुस ३० गते नेपाल आएका थिए । उनलाई लिन श्रीमती अनिषा काठमाडौँ गएकी थिइन् । 

पोखरा फर्किने क्रममा उनीहरू चढेको विमान अवतरणका क्रममा विमानस्थल नजिक सेतीखोँचमा दुर्घटनामा परेको हो । यती एयरलाइन्सको सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए ।
 
यसैगरी, एक महिनाअघि पोखराको सेती खोँचमा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी दिवङ्गत पोखरा-२१, दोविल्ला निवासी २४ वर्षीया सविना रायमाझीको अन्त्येष्टि गरिएको छ । 

पोखरा-२१ स्थित सेती नदीको दोबिल्ला घाटमा सोमबार बिहान सविनाको अन्त्येष्टि गरिएको उनका पारिवारिका सदस्यले जनाएका छन् । जहाज दुर्घटनामा पर्नुभएकी सविनाको शव पहिचान हुन नसकेपछि माघ ३ गते डिएनए परीक्षणका लागि काठमाडौँ लगिएको थियो । 

डिएनएको रिपोर्ट माघ २९ गते आइतबार मात्रै प्राप्त भएपछि सोमबार सविनाको परिवारले शव बुझेलगत्तै अन्त्येष्टि गरेका हुन् । काठमाडाँैबाट पोखरा फर्कने क्रममा सविनाको यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ