arrow

पूर्वराजा बोलाएको भन्दै दुर्गा प्रसाईंलाई कारबाही गर्नुपर्नेमा एमालेमा चर्चा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
durga-prasai-royal-family.jpg

काठमाडौं । कुनै न कुनै रुपमा चर्चामा आइरहने एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पूर्व राजालाई बोलाएर कार्यक्रम गरेपछि एमाले वृत्तमा पार्टीभित्र राख्न नहुने चर्चा चलेको छ । 

पार्टीको केन्द्रीय सदस्यले नै पूर्व राजालाई अतिथि बोलाएर कार्यक्रम गरेपछि त्यसबारेमा छलफल गरी कारबाही गर्नुपर्ने आवाज उठेको हो । पार्टीले केन्द्रीय सदस्यहरुलाई ‘मिसन ग्रासरुट’, अभियान सञ्चालन गर्ने तयारी गरेको र पार्टीका नेताहरु गाउँ–गाउँ जान लागेका बेला प्रसाईले भने पूर्व राजालाई बोलाएर अभियान नै शुरु गरेपछि उनलाई पार्टीबाट कारबाही गर्नुपर्ने आवाज उठेको हो ।  

सोमबार अपरान्ह मेडिकल व्यवसायी प्रसाईंले झापामा विकृति विरुद्धको अभियान सञ्चालन गरेका थिए । त्यही समय एमाले अध्यक्ष केपी शर्मा ओली झापामै भए पनि उनी त्यहाँ गएनन् । 

प्रसाईंले ओलीलाई पनि निम्ता दिएका थिए । तर कार्यक्रम ढिला गरी पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भएका थिए । पूर्वराजा बा २१ च ७३१८ नम्बरको टोयटा कम्पनीको सवारी आफैंले चलाएर कार्यक्रम स्थलसम्म आएपछि प्रसाईंले स्वागत गरेका थिए । 

पूर्वयुवराज पारस शाह, छोरी सितास्मा र नातिनी पूर्णिकाका साथ स्टेज चढेका पूर्वराजा धेरै समय भने बसेनन् । विकृतिविरुद्ध अभियानकी प्रवक्ता रमा सिंहले पूर्वराजालाई राजतन्त्रको अवधि झल्कने गरी देशमा विद्यमान समस्याबारे जानकारी गराउँदै स्वागत गरेकी थिइन् । उनी पनि राजसंस्थाप्रति आस्थावान हुन् । 

प्रसाईं तिनै हुन् जसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘मार्सी चामलको भात’ खुवाएपछि चर्चामा आएका थिए । 

जनयुद्धताका माओवादीमा सक्रिय प्रसाईं हाल एमालेको सदस्य छन् । ‘उहाँले के गर्नु भएको छ भन्ने बारेमा पार्टीलाई जानकारी छैन, सञ्चारमाध्यमबाट समाचार आएको हो । त्यो विषयमा छलफल हुने विषय छ’, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने । 

प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायिक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ अभियान’ शुरु गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ