arrow

नौ हजार धावक सहभागी पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
Marathoon.jpg

पोखरा । पोखरामा शनिबार हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सबै तयारी पूरा भएको छ । आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि म्याराथनको सबै तयारी पूरा भएको जानकारी दिएको हो । 

मञ्चका अनुसार म्याराथनमा सहभागी हुनका लागि हालसम्म करिब नौ हजार जनाले नाम दर्ता गराएका छन् ।

मञ्चका अध्यक्ष हरि पराजुलीका अनुसार यस वर्षको खुला म्याराथनमा १५० जना धावकहरु सहभागी हुनेछन् ।

महिलातर्फको हाफ म्याराथनमा भने ३५ जना धावहरुले नाम दर्ता गराएको अध्यक्ष पराजुलीले बताए । 

यस्तै, १० किलोमिटर पुरुषतर्फ एक हजार ५०० र महिलातर्फ ६०० जनाले नाम दर्ता गराएका छन् ।

यसैगरी पाँच किलोमिटर दौडमा ७० वटा विद्यालयका छात्र एक हजार ६०० र छात्रा ६०० जनाले नाम दर्ता गराएका छन् । 

यस्तै, ह्विलचेयरतर्फ ३५ जना, दृष्टिविहीन दौडतर्फ ९० जना र ‘रन फर फन’ तर्फ सबैभन्दा धेरै पाँच हजार जनाले नाम दर्ता गराएको मञ्चले जनाएको छ ।

प्रतियोगितामा विदेशी १६ देशका धावक सहित नेपालका सात वटै प्रदेशबाट ३७ जिल्लाका धावकहरुले सहभागिता जनाउने छन् ।

म्याराथन विजेताले पाँच लाख, दोस्रो हुनेले तीन लाख र तेस्रो हुनेले दुई लाख र चौथो हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

मञ्चले गण्डकी प्रदेशका धावकहरुका लागि छुट्टै पुरस्कारको व्यवस्था गरेको छ । जसमा प्रदेशबाट सहभागी भइ विजेता धावकलाई प्रथम, द्वित्तीय र तृतीय पुरस्कार क्रमशः ५० हजार, ३० हजार, २० हजार रुपैयाँ प्रदान गरिने छ ।

यस्तै, महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई एक लाख ५० हजार, दोश्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्त्वना पुरस्कार स्वरुप १५ हजार प्रदान गरिने आयोजकले जनाइएको छ ।

यस्तै, १० किलोमिटर महिला तथा पुरुष दौडका विजेतालाई प्रथम, द्वित्तीय र तृतीय पुरस्कार स्वरुप क्रमशः ३० हजार, २० हजार र १५ हजार, पाँच किलोमिटर छात्रछात्रा दौडतर्फ प्रथम, द्वित्तीय, तृतीय हुनेले १५ हजार, १० हजार र सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी ह्विलचेयर र दृष्टिविहीन महिला/पुरुष दौडतर्फ प्रथम, द्वित्तीय र तृतीय हुनेले १० हजार। सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।



नयाँ