- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशस्तरीय दोस्रो खुला आर्चरी प्रतियोगिता शुक्रबारदेखि पोखरामा शुरु भएको छ । शुक्रबार भएको भेट्रान्स विधाको खेलमा म्याग्दीका जयप्रकाश छन्त्याल प्रथम भएका छन् ।
आठ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् । प्रतियोगितामा कास्कीका हिरामान लालचन दोस्रो र म्याग्दीकै भीमेन्द्रमान पुन तेस्रो भएका छन् ।
प्रतियोगितामा भेट्रान्सतर्फ ८७ वर्षका मीनबहादुर शेरचन र ६९ वर्षका हरिध्वज तुलाचनसमेत सहभागी भएको अध्यक्ष शेरचनले जनाए ।
शुक्रबार भएको रिकर्ब खुला पुरुष प्रतिस्प्रर्धामा कास्कीका सुमन गुरुङ ५९५ अंक बटुल्दै अग्रस्थानमा रहे ।
कास्कीकै अशिम शेरचनले ५८८ अंक ल्याउँदै दोस्रो स्थानमा रहे भने कास्कीकै दुर्गा घर्तीमगर ५५७ अंकसहित तेस्रो स्थानमा छन् ।
पुरुष स्टान्डर्ड तर्फको विधामा बागलुङका हिकमत पुरी अग्रस्थानमा छन् भने कास्कीका ३२७ अंकसहित रबिन थापा र कास्कीकै प्रदीप पुर्जा ३२७ अंकसहित दोस्रो स्थानमा छन् ।
रिकर्ब खुला महिलातर्फको प्रतिस्पर्धामा पहिलो दिनको खेलमा कास्कीका खेलाडीहरु अग्रस्थानमा छन् ।
कास्कीका केशरी आले मगर र कास्कीकै विष्णुमाया लिम्बुले समान ५८८ अंक पाएका छन् । कास्कीकै अनुश्का शेरचनले ५७२ अंक पाएका छन् ।
शनिबारसम्म पोखरा रगंशालाको आर्चरी खेल मैदानमा चल्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गरेका थिए ।
सो अवसमा प्रदेश प्रमुख गुरूङले हरेक कुरा सफल हुन शारीरिक रूपमा स्वस्थ हुन आवश्यक भएको बताए ।
कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरूङ, परिषदका का.बा.सदस्य सचिव घनश्याम पौडेल, संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले खेलकुदको विकास गर्न यस्ता प्रतियोगिता निरन्तर रुपमा आयोजना हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा खेलाडीहरुको साथमा गण्डकी प्रदेशका सांसदहरु प्रकाश बराल र विकल शेरचनलाईसमेत सम्मान गरिएको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपूर्ण आर्चरी क्लबको ब्यबस्थापन संचालन भएको प्रतियोगिताको सहआयोजक कास्की जिल्ला आर्चरी संघ रहेको छ ।