- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष युवराज ज्ञवालीले गण्डकी प्रदेशमा मिसन ग्रास रुट अभियानलाई प्रभावकारी ढंगले अघि बढाइने बताएका छन् ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)मा उनले पछिल्लो अवधिमा पार्टीमा खिया लागेको तथा कमिटीका नटबोल्ट खुकुलो भएको उल्लेख गर्दै अभियानले पार्टी कमिटीलाई व्यवस्थित र चुस्त दुरुस्त बनाउने दाबी गरे ।
अहिले पार्टीमा संस्थागत रुपमा गुटबन्दी नभएको भन्दै उनले स्थानीय तह तथा आम निर्वाचनमा घात, अन्तर्घात बढी भएकाले पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताए ।
उपाध्यक्ष ज्ञवालीले मिसन ग्रास रुट अभियानले पार्टीमा मौलाएको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
उनले पार्टीमा मौलाउँदै गरेको अराजकता र अनुशासन हिनतालाई हटाउन नियमित रुपमा शुद्धिकरण अभियान सञ्चालन गर्नुपर्ने बताए ।
फरक प्रसंगमा उपाध्यक्ष ज्ञवालीले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारभन्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तुलनात्मक रुपमा प्रगतिशील भएको दाबी गरे । उनले दलाल पुँजीपतिको प्रतिनिधित्व गरेको नेपाली कांग्रेससँग एमालेले सधैं प्रतिस्पर्धा गर्ने उल्लेख गरे ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय कमिटी सचिव पद्माकुमारी अर्याल, स्थायी कमिटीका सदस्यहरु किरण गुरुङ, थममाया थापा, स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमम नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडीले ग्रास रुट अभियानका बारेमा प्रकाश पारे ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय गरेको छ ।
कमिटीको शनिबार बसेको १२ औं पूर्ण बैठकले दुई महिने अभियानमा भूगोलमा खट्ने प्रदेश कमिटीका सचिवालय सदस्य तथा कमिटीका सदस्यको कार्यविभाजनसमेत गरेको छ ।