arrow

राष्ट्रपतिको उम्मेदवार बनाउन एमालेभित्रै लफडा, शंकरले बोके ईश्वरलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
ishwor-shankar.jpg
तस्बिर – फाइल ।

काठमाडौं । साझा व्यक्ति खोज्ने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहना विपरीत एमालेले आफ्नै उम्मेदवारलाई अघि सार्ने योजना बनाएको छ । 

माओवादीले एमालेभित्र खेल्न खोजेको भन्दै आफ्नै तहबाट उम्मेदवार बनाउने तयारी गरेको हो । अनौपचारिक छलफलमा माओवादीले एमालेभित्रको पात्रलाई आफ्नो अनुकुलमा ढाल्न खोजेको भन्दै पार्टी जो पठाउँछ त्यही उम्मेदवार हुन्छ भन्ने तहबाट पार्टी पदाधिकारी र स्थायी कमिटीका सदस्यहरुमा छलफल अघि बढेको हो । 

यतिबेला सबै नेताहरु एमालेको ‘ग्रास रुट’ अभियान अन्र्तगत जिल्ला जिल्ला रहे पनि केन्द्रमा रहेका नेताहरुबीच छलफल गरिरहेका छन् । एमाले सचिव गोकर्ण विष्टले एमालेबाटै राष्ट्रपति हुने बताए । 

‘पुस १० गते जे सहमति हो त्यो एमाले र माओवादी दुवैले तोडेका छैनन् अब पनि त्यस्तो कल्पना नगराैँ’, एमाले सचिव विष्टले भने । 

एमालेले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने गरी केन्द्रीय तहमा छलफल गरे पनि बाहिरको प्रतिक्रियालाई नियालिरहेको छ । 

यतिबेला सुवास नेम्वाङ, स्वतन्त्र व्यक्ति तर एमालेकै कोटामा भारतीय राजदूत भएका निलाम्बर आचार्य र अष्टलक्ष्मी शाक्यको विषयमा छलफल चलिरहेका छन् । 

तर एमाले महासचिव शंकर पोखरेलले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बोकेर हिँडेका छन् । पोखरेलले सभामुखमा पनि देवराज घिमिरेलाई बोकेर हिँडेका थिए । 

उनलाई सभामुखमा अघि सारेर आफ्नो गुटमा एउटा इँटा थपेका छन् । अहिले पनि ईश्वर पोखरेललाई राष्ट्रपति बनाउने हो भने आफ्नो गुट निकै बलियो हुने अभियानमा लागेको स्रोतको दाबी छ । 
 
एमाले अध्यक्ष केपी शर्मा ओलीले नाम उल्लेख नगरीकन पार्टीले जो पठाउँछ उसलाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् । 

ओलीको निरन्तरको अडानपछि एमाले–माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दरार उत्पन्न भएको छ । ‘पोखरेललाई राष्ट्रपति बनाउने विषयमा ओली निकटका नेताहरुले निरन्तर कुराकानी गरिरहेका छन्’, बालुवाटार निकट स्रोतले भन्यो ।

‘सभामुख र राष्ट्रपति एमालेले पाउने समझदारी भएयता ओलीले आफ्नो अनुकूलका नेतालाई पार्टीले राष्ट्रपति उम्मेदवार बनाउने र १० पुसको सहमति अनुसार माओवादीले पनि समर्थन गर्नुपर्ने बताउँदै आएका छन’, स्रोतले भन्यो । 

माओवादीले पोखरेल बाहेकका नेताहरु भए मात्रै एमालेलाई समर्थन गर्न सकिने बताइरहेका छन् । प्रधानमन्त्रीका लागि ओली–प्रचण्डबीच भएको आलोपालो सहमतिमा राष्ट्रपतिको निर्वाचनले नै निर्धारण गर्ने बताइएको छ । 

एमालेभित्र वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल हार्डलाइनर नेता मानिन्छन् । तर एमालेले उनको स्थानमा निलाम्बर आचार्यको नाममा पनि ‘ट्रायल गर्न’ अघि सारिरहेको छ । 

‘ट्रयाल नामहरु धेरै छन्, निलाम्बर आचार्य, डोरमणी पौडेल, गोमा देवकोटा, जस्ता नेताहरुको विषयमा छलफल गरेर ओलीले अन्तिम समयमा पोखरल र नेम्वाङलाई अघि सार्नेछन्’, एमालेका एक नेताले भने । 

एमालेले पोखरेल वा नेम्वाङलाई नै उम्मेदवार बनाउँछ र १० पुसको सहमति अनुसार माओवादीले पनि स्वीकार गर्नुपर्छ ।

एमाले स्रोतका अनुसार नेम्वाङलाई राष्ट्रपति बनाउनेमा ओली असहमत देखिएका छन् । प्रचण्डले एमालेका अन्य केही नेताको नाम ओलीसमक्ष राखेपछि ओली झन् चिढिएका छन् । 

प्रचण्डको सुझावका रुपमा प्रस्तुत गरेका केही नेताको नाममा ओलीले सहमति जनाएका छैनन् ।  भावी राष्ट्रपतिका लागि प्रचण्डले सुझावका रुपमा पेस गरेका एमालेका नेताहरुमा अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि हुन् । 

यो विषयमा ओली मौन बसेका छन् । ओलीको मौनताले बनिसकेको गठबन्धन पनि फेरि भत्किन सक्ने भन्दै एमाले नेताहरुले वामपन्थीहरुप्रति लचक रहेका नेतालाई राष्ट्रपतिमा लैजान सुझाव दिइरहेका छन् ।

एमालेभित्रै नाममा किचलो भएसँगै केपी ओलीले उम्मेदवारी मनोनयन गर्ने दिन फागुन १३ गतेमात्रै नाम सार्वजनिक गर्ने बताएका छन् । 

महासचिव शंकरले बोकेका ईश्वर काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा हारेका हुन् । उनी नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग पराजित भएका थिए । 

ईश्वर आफू पनि पार्टीभित्र गुट चलाउने नेतामा पर्छन् । फेरि सांसदमा पराजित भएका नेतालाई राष्ट्रपति बनाउँदा जनमतले के भन्छ ? भन्ने प्रश्न पनि खड्किएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ