arrow

राष्ट्रपतिका लागि चार दलको बैठक बालुवाटारमा, ढोका चारैतिर खुला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
president-election-nepal1.jpg

काठमाडौं । भावी राष्ट्रपति चयनका लागि उम्मेदवारी तय गर्न चार दलका शीर्ष नेताहरुबीचको छलफल चलिरहेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बैठकमा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाका नेताहरु सहभागी रहेका छन् । 

भोलि राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन गर्नुअघि नै आफ्नो उम्मेदवार तय गर्नका लागि प्रचण्डले बैठक डाकेका हुन् । यसअघिको सहमतिअनुसार नेपाली कांग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा कांग्रेस रहेको छ । 

तर सत्तारुढ गठबन्धनको सहमितअनुसार एमालेले राष्ट्रपति पाउनु पर्छ भन्ने रहेको छ । प्रचण्डले राष्ट्रिय सहमति भन्दै आइरहँदा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा निर्णय गर्छन् भन्ने अहिलेसम्म यकिन भएको छैन । 

प्रचण्डले आफूलाई ढुक्कसँग पाँच वर्ष प्रधानमन्त्री बन्ने वातावरण जसले बनाउँछ उसैलाई राष्ट्रपति बनाउने पक्षमा छन् । 

प्रचण्डले कांग्रेसबाट राष्ट्रपति हुँदा सभापति शेरबहादुर देउवा नै राष्ट्रपति भैदिए हुन्थ्यो भन्ने खोजेका छन् । त्यसो भए उनीहरुको तालमेल लामो समय मिल्न सक्थ्यो भन्ने आँकलन हो । 

एमालेले आफ्नो पार्टीको नभए माधव नेपाल भए पनि राष्ट्रपति हुँदा फरक नपर्ने बताएको छ । तर त्यसका लागि उसले नेकपा एस र एमालेबीच पार्टी एकीकरणको प्रस्ताव अगाडि सारेको छ । त्यसो हुन सके आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने र पछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफैले सरकार चलाउने योजनामा रहेको छ । 

पार्टी एकता नगरी माधव नेपाललाई राष्ट्रपतिमा एमालेले मत खसाल्ने लक्षण देखिँदैन । 

यो परिस्थितिबीच चार दल छलफलमा छन् । पछिल्ला केही दिनदेखि निरन्तर छलफलमा रहेका दलहरुले आजको यो बैठकलाई निर्णायक भनेका छन् । यी बैठकमा भएका अनौपचारिक छलफललाई सामूहिकरुपमा औपचारिकता दिने र विगतको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँताउने कांग्रेस नेताहरुको प्रयास रहेको भए पनि प्रचण्डको चाल के हुन्छ त्यसमा भर पर्छ । 

बिहीबार माओवादी, नेकपा एस र जसपा मिलेर माधव नेपाललाई उम्मेदवार बनाउने निर्णय गरेका थिए । एमालेले माधवको नाम अगाडि सारेपछि आफूहरु पनि वाध्य भएर माधवलाई अगाडि सार्न परेको सम्बन्धित दलका नेताहरुको भनाइ छ । 

तर के कांग्रेसले यसमा रुची देखाउँछ त ? कांग्रेस भने माधव नेपाललाई केही समय प्रधानमन्त्री बन्ने वातावरण बनाउन खोजिरहेको छ । 

भोलि त उम्मेदवार नै खडा गर्नुपर्नेछ । 

मिलन नभए के हुन्छ ? 
अहिले सहमति हुन सकेन भने र कांग्रेसले आफ्नो दललाई राष्ट्रपति नदिने हो भने पनि उसले उम्मेदवार उठाउने नै छ । एमालेले पनि आफ्नो उम्मेदवार उठायो भने माधव नेपालसमेत उम्मेदवार हुनेछन् । 

तीन जना उम्मेदवार हुँदा फागुन २५ को राष्ट्रपतिको निर्वाचन रोचक हुने देखिन्छ । यदि एमाले र माओवादीका छुट्टै उम्मेदवार भए भने एकले अर्कालाई सघाउने कुरै भएन । अनि भूमिका हुन्छ राप्रपा, रास्वपा, जनमत पार्टीहरुको । 

उनीहरु निर्णायक हुन सक्छन् । साना दलहरु पनि आन्तरिक छलफलमा रहेका छन् । 

अहिले नै यही नै हुन्छ भन्ने सूत्र कोही कसैसँग छैन । तसर्थ शनिबार दिउँसोसम्म पनि नेताहरु निरन्तर छलफलमा रहने बुझिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ