arrow

एनएसजेएफ स्पोर्ट्स अवार्डको चार विधाको मनोनयन सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
4H0A2506.jpg

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रूपमा आयोजना गर्दै आएको नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरेको छ । 

यही फागुन २३ गते १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डका लागि विभिन्न ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्न गइरहेकामा मंगलबार चार विधामा खेलकर्मीहरुको मनोनयन सार्वजनिक गरिएको हो । 

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रम हुने दिन फागुन २३ गते नै घोषणा गरिनेछ । 

मंगलबार वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट महिला खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीका साथै वर्षका उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिएको हो । 

यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् ।

वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन् । 

त्यस्तै, वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी रहेका छन् । 
 
वर्ष प्रशिक्षकतर्फ फुटबलका कुवेती अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेव ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् । 

अन्य ५ विधामा ५–५ खेलाडी मनोनयन कार्यक्रमअगाडि नै सार्वजनिक गर्ने प्रचलन छ । त्यसअनुसार पिपल्स च्वाइस विधाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । 

त्यसमा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी रहेका छन् । 

उनीहरूलाई समर्थकबाट भोटिङ आउनेक्रम जारी रहेको मञ्चले जनाएको छ । सबै खेलाडीलाई भोट गर्न कार्यक्रमको एक दिन अगाडिसम्म ईसेवाको भोटिङ लाइन खुला रहने भएको छ । त्यस्तै सामाजिक सञ्जाल फेसबुकबाट पनि लाइक र शेयर गर्न सकिने मञ्चले जनाएको छ ।


विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन् । यसपालि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । 

अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने खेलाडी छनोट समिति
संयोजक अञ्जन खड्काले बताए । 

4H0A2506.jpg
4H0A2520.JPG
4H0A2538.jpg


नयाँ