arrow

राष्ट्रपतिमा हार्ने निश्चित भएसँगै एमाले नेताहरु लागे ‘मिसन ग्रासरुट’ तिर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १६ मंगलबार
uml-sachibalaya-2079-11-13.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत सात उपाध्यक्ष र सात सचिवलाई जिम्मेवारीसहित क्षेत्र तोकेपछि राष्ट्रपति निर्वाचन छाडेर अहिले त्यता व्यस्त भएका छन् ।

दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमालेले फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान शुरु भैसकेको अवस्था अध्यक्ष केपी शर्मा ओली र केन्द्रीय कार्यालयमा खटिएका नेता बाहेक सबै सो अभियानमा जुटेका छन् । 

अध्यक्ष ओलीले फागुन ५ गते सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि अभियान शुरु भएको थियो । 

अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिनाका लागि खटिन थालेका छन् । एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ । जसअन्तर्गत उनीहरुलाई ११ वटा कार्यादेश तोकिएको छ ।

‘११ वटा कार्यादेशमा सदस्यता नवीकरण गर्ने, पार्टी कमिटीहरुको व्यवस्थापन गर्ने, प्रशिक्षण गर्ने, भेला, बैठक अन्तरक्रिया, स्थानीय समस्या बुझ्ने, पार्टीभित्रको अन्तरविरोध हेर्ने र हल समेत गर्ने लगायत छन्’, पार्टीका कार्यालय सचिव भिष्म अधिकारीले भने । 

उनका अनुसार राष्ट्रपति निर्वाचनको तयारीका लागि लागि पुग्ने नेताहरु मात्रै काठमाडौं बसेर अन्य सबै नेताहरु ग्रास रुट अभियानमा खटिएका छन् । 

सो  अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिएका छन् । 

एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । ‘राष्ट्रपतिका लागि मत लाग्न एमाले अध्यक्ष लगायतका केही नेताहरुले काठमाडौं छाड्नु हुँन्न बाँकी साथीहरु ग्रास रुट अभियानमै हुनुहुन्छ’, एमाले सचिवालयका एक नेताले भने । 

नेम्वाङले राष्ट्रपतिमा नजित्ने पक्का भएसँगै एमाले पार्टी संगठनतिर लागेको हो । गत फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन नै एमाले सम्मिलित सत्ता गठबन्धन फुटेर सबैभन्दा ठूलो दल नेपाली कांग्रेसँग जोडिएको थियो । 

सत्ता गठबन्धनबाट एमालेसँग राप्रपा बाहिरिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी आठ दलीय नयाँ गठबन्धनमा नजोडिएको भए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छेन । 

आफ्नै पार्टी संगठनमा लागेको एमालेका कुन नेता कहाँ ?
प्रदेश–१
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की ।
मधेस प्रदेश
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल
बागमती प्रदेश
उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ
गण्डकी प्रदेश
उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमाकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा
लुम्बिनी प्रदेश
उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे ।
कर्णाली प्रदेश
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी
सुदूरपश्चिम प्रदेश
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा ।
विशेष कमिटी (केन्द्रीय कार्यालय)
महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा. भीष्म अधिकारी ।



नयाँ