- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवं पूर्व युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रियता र स्वाधिनताका पक्षधरहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले घेराबन्दी गरिरहेको आरोप लगाएका छन् ।
कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको ११औं अधिवेशन उद्घाटन गर्दै उनले विशेषगरि एमालेबिरुद्ध राष्ट्रिय, अन्तर्राष्ट्रिय षडयन्त्रहरु भइरहेका बताए ।
उनले अहिले देश निर्माणमा जुटेको एमाले र कर्मचारीले असुरक्षित महसूस गरिरहेको बताए । तर उनले कस्तो खालको असुरक्षा महसूस भएको भन्ने बारेमा केही खुलाएनन् ।
पूर्वमन्त्री विश्वकर्माले नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पूरा गर्न निर्देशनसमेत दिए । सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न सबै एकजुट हुन आवश्यक रहेको उनले स्पष्ट पारे ।
सुशासन, विकास र समृद्धिको बाधककारुपमा भ्रष्टाचार र अस्थिरता आएको उल्लेख गर्दै उनले यसको अन्त्यका लागि कर्मचारीले पनि भूमिका खेल्नुपर्ने बताए ।
विश्वकर्माले कर्मचारी संगठनका नेताहरुलाई आफ्नो व्यक्तिगत फाइदा भन्दा संगठन र पार्टीको हितका बारेमा सोच्न आग्रह गरे ।
संगठनका नेताले व्यक्तिगत फाइदा, नाफा वा लाभ हेर्ने नहुने भन्दै उनले संगठन र पार्टीको लक्ष्य र उद्देश्य अनुसार सिंगो देश र जनताको भाग्य र भविष्य कोर्न भूमिका खेल्नुपर्नेमा जोड दिए ।
पेशागत महासंघ गण्डकी प्रदेश अध्यक्ष महेन्द्र रिमालले कर्मचारीलाई पेशागत मर्यादा कायम राख्दै काममा व्यवसायिकता देखाउन आग्रह गरे ।
कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रकाश कँडेलले कर्मचारीको सहयोगमा नै बैंक सफल हुने भएकाले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले यसका लागि आफू र आफ्नो टिमले सँधै प्रतिवद्ध भएर काम गरिरहेको स्पष्ट पारे ।
कृषि विकास बैंक कर्मचारी संघका केन्द्रीय सल्लाहकार महेश पौडेलले कर्मचारीको हक, हितसँगै बैंकलाई अब्बल बनाएर सेवाग्राहीलाई सेवा गर्नु नै संगठनको उद्देश्य रहेको बताए ।
संघको अध्यक्षमा थापा
कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा सन्तोष थापा निर्वाचित हुनुभएको छ । संघको पोखरामा शनिबार भएको ११औं प्रदेश अधिवेशनले थापालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा भीमबहादुर थापा, सचिवमा सुमन सुवेदी, सहसचिवमा सुनिल ढेवाजु र कोषाध्यक्षमा सन्दीप अधिकारी चयन भएका छन् ।
यस्तै, कार्यसमिति सदस्यहरुमा यमप्रसाद भुषाल, डोलराज गैह्रे, सरस्वती पाण्डे, सन्दीप अधिकारी, सिता पाण्डे, रामचन्द्र अधिकारी, बिजय पौडेल र कुशल तिवारी चयन भएका हुन् ।