arrow

तनहुँमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
Tanahun_District.png

तनहुँ । सङ्घीय र प्रदेश सरकारमार्फत तनहुँका लागि विनियोजित विकास बजेट खर्च न्यून रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि यहाँ विनियोजित विकास बजेट खर्च न्यून देखिएको हो । 

सङ्घीय सरकारमार्फत विनियोजित विकास बजेटमध्ये चालु वर्षको हालसम्मको अवधिमा आठ दशमलव ६९ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये सोही अवधिमा १३ दशमलव ३१ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । 

“योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुन्छ । बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा केही समय लाग्ने भएकाले सुरुका महिनामा काममा ढिला हुने गरेका खर्च पनि कम देखिएको हो”, कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए । आवको अन्तिममा धेरै बजेट खर्च हुने गरेको उनको भनाइ छ । 

सङ्घीय सरकारमार्फत तनहुँका लागि पुँजीगततर्फ रू तीन अर्ब १५ करोड ७२ लाख ६० हजार तीन सय ९० विनियोजन भएको थियो । छ महिनाको अवधिमा रू २७ करोड ४३ लाख ७२ हजार एक सय ७५ खर्च भएको छ ।

आन्तरिक राजस्व कार्यालयका लागि पुँजीगततर्फ रू तीन करोड ३८ लाख ६५ हजार विनियोजन भएकामा रू ८४ लाख तीन हजार एक सय ३८ खर्च भएको छ । राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका लागि रू दुई करोड २६ लाख ५० हजार विनियोजन भएकामा रू २५ लाख १८ हजार एक सय ७४ खर्च भएको छ । 

यस्तै, भानुभक्त प्राणी उद्यानका लागि रू एक करोड ३५ लाख ४० हजार विनियोजन भएकामा रू ५० हजार खर्च भएको छ । सडक डिभिजन कार्यालयका लागि रू ६० करोड ९१ लाख विनियोजन भएकामा रू आठ करोड ५४ लाख ६८ हजार चार सय ६० विनियोजन भएको छ । 

मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का लागि रू दुई अर्ब नौ करोड ९९ लाख ६८ हजार विनियोजन भएकामा रू १३ करोड चार लाख ८२ हजार आठ सय ६७ खर्च भएको छ । नयाँ सहर आयोजना कार्यालयका लागि रू २६ करोड १५ लाख विनियोजन भएकामा रू ५४ लाख ३८ हजार पाँच सय २२ खर्च भएको छ । 

यता, गण्डकी प्रदेश सरकार मातहत तनहुँमा रहेका कार्यालयको विकास खर्च पनि निराशाजनक छ । साउनदेखि हालसम्म विकास खर्च १३ दशमलव ३१ प्रतिशत मात्रै रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । पुँजीगततर्फ रू दुई अर्ब ६९ करोड ४३ लाख ३१ हजार बजेट विनियोजन गरिएकामा छ महिनामा रू ३५ करोड ८८ लाख ६१ हजार दुई सय २३ खर्च भएको जनाइएको छ ।

व्यावसायिक किट विकास केन्द्रका लागि रू एक करोड २५ लाख ४० हजार विनियोजन गरिएकामा रू २१ लाख ७५ हजार छ सय २८ खर्च भएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका लागि रू १० करोड चार लाख ५० हजार विनियोजन गरिएकामा रू एक करोड ३२ लाख ७६ हजार दुई खर्च भएको छ । 

पूर्वाधार विकास कार्यालयका लागि रू एक अर्ब ७२ करोड २४ लाख ३१ हजार विनियोजन गरिएकामा रू २२ करोड ५२ लाख ५३ हजार चार सय ४० खर्च भएको छ भने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका लागि रू २१ करोड ५१ लाख विनियोजन गरिएकामा रू दुई करोड १९ लाख ९५ हजार आठ सय २० खर्च भएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका लागि रू ४३ करोड ६० लाख विनियोजन गरिएकामा रू सात करोड ६७ लाख सात सय ४४ खर्च भएको छ । घरेलु तथा साना उद्योग कार्यालयका लागि पुँजीगततर्फ रू एक करोड ९२ लाख ४० हजार विनियोजन गरिएकामा हालसम्म खर्च भएको छैन ।  

प्रदेश मातहतका कार्यालयका लागि चालुतर्फ रू ८४ करोड ४६ लाख तीन हजार ६७ विनियोजन गरिएकामा रू १६ करोड ३६ लाख ४१ हजार छ सय २९ खर्च भएको छ । चालु र पुँजीगत गरी कूल रू ५२ करोड २५ लाख दुई हजार आठ सय ५३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ