arrow

छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
Chhimkeswori-tanahu.jpg

तनहुँ । तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला आयोजना गरिएको छ । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा फागुपूर्णिमाको अवसरमा साहित्यिक तथा पर्यटन मेला सम्पन्न भएको हो ।

‘गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔँः राष्ट्रिय फूल लालीगुरॉससँग होली मनाऔँ’ भन्ने नाराको साथ आँबुखैरेनी वाङ्मय परिषद्को आयोजना, आबुखैरेनी गाउँपालिकाको संरक्षण, वडा नं ५ र छिम्केश्वरी युवा क्लबको सहआयोजनामा मेला सम्पन्न भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले छिम्केश्वरीको पर्यटन प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने बताए । पर्यटनबाट समृद्धि सम्भव रहेकाले ग्रामीण पर्यटन प्रवर्द्धनमा स्थानीय सरकारको अभियानमा प्रदेश सरकारले साथ दिने उनले बताए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले युवालाई स्थानीयस्तरमा उत्पादन गर्न जोड दिँदै उत्पादित वस्तुलाई बजारीकरण गर्न समस्या नहुने बताए । छिम्केश्वरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको आँबुखैरेनी वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । 

मेलामा स्थानीयस्तरमा उत्पादन भएका सामग्री बिक्रीका लागि स्टलमा राखिएको थियो । अन्य स्थानबाट आयात गरिएका सामग्री बिक्रीका लागि प्रतिबन्ध गरिएको मेलामा स्थानीय परिकार, उत्पादनको प्रदर्शनी र धनुषवाण, भाला, छेलो हान्ने खेल खेलाइएको थियो । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति र राष्ट्रिय कविको साहित्य वाचनले कार्यक्रममा रौनक थपेको थियो ।

त्यसक्रममा तीन हजारभन्दा बढी आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका थिए । गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय १० पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत छिम्केश्वरी, यहाँ रहेको छिम्केश्वरी माई र छिम्कालेक मन्दिर, यहाँका धार्मिक तथा सांस्कृतिक रीतिरिवाजको प्रचार-प्रसार गर्ने उद्देश्य राखिएको छ ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित देख्न सकिन्छ ।

छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ । गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिरको पुनःनिर्माण गरेको छ । मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा रु ४१ लाख ६३ हजार सात सय छ को लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ