arrow

हारको समीक्षा र उम्मेदवारीका लागि एमालेले डाक्यो सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
uml-sachibalaya-2079-11-13.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रपतिको निर्वाचन सकिएपछि नेकपा एमालेले पहिलो पटक शनिबार पार्टी सचिवालय बैठक बोलाएको छ । उपराष्ट्रपतिको उम्मेदवार तथा राष्ट्रपति निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्नका लागि एमालेले शनिबार बिहानलाई सचिवालय बैठक बोलाएको हो ।

 ‘उपराष्ट्रपतिको निर्वाचनको विषय र राष्ट्रपति निर्वाचनको समीक्षा लगायतका विषयहरु हुनेछन्’, एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भने । 
एमालेले फागुन २७ गते उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्दा उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने भएको छ । 

उम्मेदवार तय गर्न शनिबार बिहान सचिवालय बैठक बोलाइएको एमालेले जनाएको छ । आगामी चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ ।   

निर्वाचन आयोगले संविधानको धारा ३८ को उपधारा ४३ किटेर निर्देशन जारी गरिसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायको व्यक्ति हुनुपर्ने उल्लेख छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समूदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) बाट उम्मेदवार हुनुपर्नेछ । उपराष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको छ । 

एमालेले कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा अहिलेसम्म अनौपचारिक छलफलसमेत गरेको छैन । उता नवगठित आठ दलीय गठबन्धनमा जसपा, लोसपा र जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ