arrow

विद्यार्थी राजनीति

स्ववीयू निर्वाचनमा आज मनोनयन दर्ता, कहाँ कति विद्यार्थी, यस्तो छ चुनावी कार्यतालिका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
tribhuvan-university.jpg
तस्बिर – फाइल ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रीवी) को आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचनमा आङ्गिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन् ।  
    
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले एउटा क्याम्पसबाहेक सबै आङ्गिक क्याम्पसको स्ववीयू निर्वाचनमा सहभागी हुने विद्यार्थी सङ्ख्या प्राप्त भएको बताए । उनका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पसबाहेक ६१ आङ्गिक क्याम्पसको स्ववीयू निर्वाचनमा सहभागी हुने मतदाता सङ्ख्या प्राप्त भएको छ । उनले त्रिचन्द्र क्याम्पसमा अझै निर्वाचन प्रक्रिया शुरु नभएकाले मतदाता सङ्ख्या यकिन नभएको बताए । 

उपत्यकाका २१ क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थी स्ववीयू निर्वाचनमा मतदाता रहेका छन् ।     

निर्देशक अधिकारीले सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण (पीएन) बहुमुखी क्याम्पसमा रहेको बताए । पीएन क्याम्पसमा १० हजार आठ सय ७० विद्यार्थी स्ववीयू निर्वाचनमा सहभागी हुने जनाइएको छ । 

पीएनपछि ठाकुरराम बहुमुखी क्याम्पसमा १० हजार दुई सय ६२  तथा बुटवलको बुटवल बहुमुखी क्याम्पसमा सात हजार एक सय नौ विद्यार्थी सहभागी हुँदैछन् । 

उपत्यका बाहिर सबभन्दा कम विद्यार्थी मतदाता चितवन इञ्जिनियरिङ क्याम्पस चितवनमा ७१ छन् । 

उपत्यकामा धेरै शङ्करदेव क्याम्पस

यस्तै उपत्यकामा सबभन्दा बढी विद्यार्थी शङ्करदेव क्याम्पसमा छन् । शङ्करदेवमा आठ हजार चार सय ९० विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता छन् । 

शङ्करदेवपछि नेपाल कमर्स क्याम्पस मिनभवनमा आठ हजार एक सय ८८, पाटन संयुक्त क्याम्पसमा सात हजार छ सय नौ र पद्मकन्या बहुमुखी क्याम्पसमा पाँच हजार पाँच सय ९२ विद्यार्थी मतदाता छन् । त्रीवीको केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९ मतदाता छन् । उपत्यकामा सबैभन्दा थोरै विद्यार्थी आयुर्वेद क्याम्पस कीर्तिपुरमा एक सय ५१ छन् । 

देशभरका त्रीवीका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी मतदाता छन् । करिब एक दशकदेखि हुन नसकेको स्ववीयू निर्वाचनको चहलपहल बढेको छ । 

यस्तो छ चुनावी कार्यतालिका

चैत ५ गते हुने स्ववीयू निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारलाई शुक्रबार मनोनयन पत्र वितरण गरिएको छ । 

आज  बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ । 

भोलि फागुन २८ गते उम्मेदवारमाथि दाबी–विरोध र छानबिन हुँदैछ । 

फागुन २९ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली रहेको छ । 

फागुन २९ देखि चैत २ गते मध्यरातिसम्म निर्वाचन प्रचारप्रसारको समय रहेको छ । 

त्यसपछि चुनाव नहुन्जेलसम्म मौन अवधि र चैत ५ गते मतदानको दिन रहेको छ । 

स्ववीयू निर्वाचनको मतदान चैत ५ गते बिहान ८ देखि अपरान्ह ४ बजेसम्म तोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ