arrow

उपराष्ट्रपतिबारे टुंगो लगाउन बुधबार बस्दै कांग्रेस बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३० मंगलबार
congress-party-office-final.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताए । 

उनले समसामयिक विषयसँगै उपराष्ट्रपतिको बारेमा टुंगो लगाउन बैठक बस्न लागेको बताए । दश दलीय गठबन्धनबाट दुई दलका छुट्टाछुट्टै उम्मेदवार भएपछि गठबन्धन विभाजित देखिएको छ । कांग्रेसले यस विषयमा स्पष्ट पार्ने बुझिएको छ । 

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । गठबन्धनमा रहेका दलबाट जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा चुनावी मैदानमा छन् । जसपाकी प्रमिलाकुमारी यादवले भने उम्मेदवारी फिर्ता लिएको जनाएकी छिन् । 

तर उनले उम्मेदवारी फिर्ता लिने समयभन्दा ढिला गरी अर्को दिनमात्र उम्मेदवारी फिर्ता लिएकाले निर्वाचन आयोगले भने उनको नाम हटाएको छैन । उनी औपचारिक रुपमा उम्मेदवार नै छिन् । 

त्यस्तै प्रतिपक्षबाट नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (बोहरा) उम्मेदवार रहेकी छिन् । 



नयाँ