arrow

पैदलयात्री सचेतना अभियान

काठमाडौं उपत्यकामा पैदलयात्री जोखिममा, ज्यान गुमाउने बढे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
kathmandu-road-2079-1-29.JPG

काठमाडौं काठमाडौं उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ४० पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरेको छ । यस अनुपातमा मृत्यु हुने पैदलयात्रीको संख्या बढेको छ।

विगतमा जेब्राक्रसिङ्मै सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको घटना पटक–पटक दोहोरिएको थियो । ती तथ्यले उपत्यकामा हिँड्ने पैदलयात्री सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ । एक त सवारी साधनको लापरबाही, त्यसमाथि पैदलयात्रीको बेपरबाहले  उनीहरू थप जोखिममा देखिन्छन् । 

ठाउँठाउँमा सडक खनिएकाले पनि यात्रुको आवागमनमा अवरोध हुँदा मूल सडकबाटै हिँड्नुपर्ने बाध्यताले पनि बटुवामा जोखिम बढ्छ । जेब्राक्रसिङमा गाडी नरोक्ने, यात्रुहरु बाटो काट्टा–काट्दै हतारमा सवारी साधन अगाडि बढ्ने, छिटो जाने बहानामा लापरबाहीपूर्वक सवारीसाधन हाँक्ने प्रवृत्ति चालकहरूमा पनि देखिएको छ । अझ मदिरा पिएर (मापसे गरेर) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाउने चालकबाट त झन् बढी जोखिम  छ । त्यसका अलावा पैदल या साइकल यात्रुहरूले पनि विशेष ख्याल नगर्दा दुर्घटनाको जोखिम बढाइरहेको पाइन्छ । 

यात्रुले सवारी साधन आए÷नआएको नहेरी बाटो काट्न खोज्ने, मोबाइलमा कुरा गर्दागर्दै बाटो काट्ने, बाटो काट्दा सवारी साधनको वास्ता नगर्ने प्रवृत्ति पनि बढ्दो छ । चालकको लापरबाहीसँगै बटुवाले गाडीको गतिको ख्याल नगर्ने अवस्था पनि रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजाल बताउँछन् ।

पैदल यात्रुको आफ्नै कारण र सवारी चालकको लापरबाहीबाट पैदल हिँड्नेहरू जोखिममा परेका पाइएको ट्राफिक प्रहरीको निष्कर्ष छ । 

त्यसैले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पैदल यात्री र साइकलयात्री सचेतना अभियान सञ्चालन गर्दै आएको छ । पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्धि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरी दुर्घटना कम गराउन सचेतना अभियान जरुरी रहेको उक्त कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिए। 

उक्त अभियान विगतमा पनि सुरु गरिएर रोकिएकामा  जोखिम पनि बढिरहेकाले पुनः थालिएको उनको भनाइ छ ।

विसं २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामूलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरेको थियो । त्यसबेला विभिन्न स्कुलका विद्यार्थी तथा सामाजिक संस्थाका प्रतिनिधिलाई सहभागी गराएर पैदलयात्रु सचेतना अभियान चलाइएको थियो । त्यसले सकारात्मक रूप लिएको थियो । बीचमा अभियान रोकिँदा फेरि अवस्था उस्तै बन्दै गएकाले पुनः अभियानलाई निरन्तरता दिइएको प्रवक्त भटृ  बताउँछन् । 

आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङ्बाट मात्रै सडक वारपार गर्नुपर्छ तर पैदलयात्रुको जेब्राक्रस नभएको स्थानबाट समेत बाटो काट्ने गलत अभ्यास काठमाडौँमा कायमै छ । त्यसले पनि जोखिम बढाएको प्रहरीको जिकिर  छ । यात्रुले भने आवश्यक स्थानमा जेब्राक्रसिङ नहुँदा दुःख पाउने गरेको गुनासो गर्दै आएका छन् ।

पैदल यात्रुमा   बढ्नसक्ने जोखिमलाई ध्यान दिएर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन ‘पैदलयात्री सचेतता अभियान’ सुरुवात गरिएको जनाएको छ । जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ भन्ने ‘प्ले कार्ड’ नै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक–चोकमा बसेर उक्त अभियानको सुरुवात गरेको प्रवक्ता भट्ट बताउँछन् । यो क्रम आज पनि जारी छ । 

उक्त अभियानअन्तर्गत सोमबार छ सय ३७ पैदलयात्रीलाई ट्राफिक प्रहरीले सचेत गराएको थियो । अभियानका क्रममा काठमाडौँको न्युरोड, बालकुमारी, जडीबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदल यात्रुलाई सडक वारपार गर्न लगाइएको थियो  ।

यस्तै ट्राफिक प्रहरीले रेडलाइट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साइकल चलाउनेलगायत विविध ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ९३ साइकलका चालकलाई पनि सचेत गराएर पठाएको थियो ।  काठमाडौंको कमलपोखरी, थापाथली, बल्खु, बूढानीलकण्ठ, नयाँ बसपार्क, नागढुङ्गा, बौद्ध र भक्तपुरमा साइकलयात्रीलाई सचेतना शिक्षा दिइएको छ । 

ट्राफिक नियम पालना गर्दै सवारी साधन चलाउन  सबै सडक प्रयोगकर्तामा प्रवक्ता भट्ट अनुरोध गर्छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ