arrow

पीएनजीलाई हराएर यूएईले राख्यो एक दिवसीय मान्यतालाई कायम राख्ने अंक गणितीय आशा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १ बुधबार
muhammad-waseem-uae.jpg

काठमाडौं । कप्तान मोहम्मद वासिमको कीर्तिमानी शतकको सहयोगमा यूएईले आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गतको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले पराजित गरेको छ ।

पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गर्‍यो। यूएईको जितमा कप्तान वासिमले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे। ४ चौका र ११ छक्कासहित उनले ६० बलमा शतक बनाए । आफ्नो एक दिवसीय करिअरको पहिलो शतक पूरा गरेका उनले ७६ बल खेल्दै १२ छक्का र ६ चौकासहित ११९ रन बनाए ।

६० बलमै शतक हानेका उनी यूएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडीसमेत हुन् । यसअघि वृत्य अरविन्दले ६९ बलमा नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए।

यस्तै वृत्य अरविन्दले ३३ रन बनाउँदा सिपी रिजवानले नटआउट २९ रन बनाए। यस्तै आयन अफजाल खानले २७ रन बनाउदा आशिफ खान ११ रनमा अभिजित रहे।

पिएनजीका रिले हेकुरेले २ तथा काबुआ मोरेआ र जोन कारिकोले १(१ विकेट हात पारे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।

उसका लागि कप्तान असाद भालाले सर्वाधिक ६५ रन बनाए। यस्तै नर्मन भानुवाले बिस्फोटक ब्याटिङ गर्दै ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे। हेकुरे २२ बलमा ३ चौका र २ छक्कासहित ३३ रनमा रन आउट रहे।

यूएईका लागि तीव्र गतिका बलर हजरत बिलालले सर्वाधिक ४ विकेट लिए। रोहन मुस्तफा र जवार फरिदले एक एक विकेट हात पारे। योसँगै पीएनजीले लिग २ का सबै ३६ खेल सकाएको छ। ५ जितसहित ११ अंक जोडेको पिएनजी अंक तालिकाको पुछारमा रहेको लिग अन्त्य गर्‍यो। यता आफ्नो १५ औं जित निकालेको यूएईले ३३ अंक जोडेको छ ।

अब लिग २ को अन्तिम खेलमा बिहीबार यूएईले नेपालको सामना गर्नेछ।

नेपाल यो खेल जितेर विश्वकप छनोटमा सिधै खेल्न चाहन्छ । यूएईले नेपाललाई अप्रत्याशित तरिकाले निकै नै फराकिलो अन्तरले पराजित गर्न सकेमात्र रनरेटमा अमेरिकाभन्दा अगाडि रहेर एक दिवसीय मान्यतामा कायमै रहन सक्नेछ । 

नेपालकै भूमिमा नेपालमाथि त्यो अप्रत्याशित फराकिलो जितको सम्भावना भने कमै छ । तसर्थ यो केबल अंक गणितीय आशा हो । र पनि क्रिकेटमा जे पनि हुन सक्छ । 



नयाँ