arrow

गर या मरको स्थितिमा नेपाल

नेपाली बलिङ पूर्ण फ्लप, जितका लागि ३११ रनको कठिन चुनौती पछ्याउँदै 

एसोसिएट टिममा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान रचे आसिफ खानले, सन्दीपले लगातार चार छक्का दिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २ बिहिबार
nepal-uae-2023-03-16-all.jpg

काठमाडौं । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत अन्तिम खेल जितका लागि नेपालले ३११ रनको फराकिलो र कठिन चुनौती पाएको छ । कीर्तिपुर मैदानमा नेपाललाई यूएईले ३११ रनको फराकिलो रनको चुनौती दिएको हो । नेपालले अहिलेसम्म यति ठूलो चुनौतीको सामना गर्न सकेको छैन । आजको यो खेल जिते नेपालको रेकर्ड हुनेछ । 

खेलमा टस पहिले ब्याटिङ गरेको यूएईले ६ विकेट गुमाएर ३१० रन बनायो । वृत्तिय अरबिन्द ९४ रनमा आउट भए भने कप्तान मुहम्मद वासिमले ४९ बलमा ६३ रन जोडे । 

तर यूएईका लागि आसिफ खानले कीर्तिमानी शतक बनाए । उनले ४१ बलमा शतक पूरा गरे । एसोसिएट राष्ट्रका खेलाडीले बनाएको यो सबैभन्दा कम बलको शतक हो । उनले अविजित रहँदै ४२ बलमा १०१ रन बनाए । 

नेपाली बलिङ पूरै ध्वस्त भएको खेलमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २ विकेट लिए । सन्दीप लामिछाने सबैभन्दा फ्लप सावित भए । उनले १ विकेट लिएका भए पनि एकै ओभरमा लगातार चार चौका दिएका थिए । ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिए । 

मैदानमा दर्शकको उपस्थिति खचाखच रहेको छ । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल प्रचण्ड पनि खेलाडीको मनोबल बढाउन मैदानमा पुगे । नेपाल क्रिकेट संघ क्यानले बुधबार साँझ नै सबै ११ हजार टिकट बिक्री गरेको थियो । 

यो खेलबाटै विश्वकप छनोटमा सिधै खेल्ने टिमको छिनोफानो, एक दिवसीय मान्यता कायम राख्ने टिमको छिनोफानो र एक दिवसीय मान्यता गुमाउने टिमको छिनोफानो हुनेछ । 

यो खेलमा जित हासिल गर्दा नेपाल सात टिम सहभागी विश्वकप लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोट सिधै खेल्न पाउनेछ । यूएईको भारी जितले एक दिवसीय मान्यतालाई कायमै राख्ने अवसर पाउने छ । 

त्यस्तै नेपाल हारले विश्वकप छनोट सिधै खेल्न पाउने छैन । उक्त अवसर नामिबियाले पाउने छ । त्यस्तै यूएई हारले एक दिवसीय मान्यता गुमाउने दोस्रो टिम बन्नेछ । 

अंक तालिकाबाट बुझ्दा–
सबै टिमले ३६ खेल खेलेपछि को कहाँ रहे भन्ने छर्लङ्ग हुन्छ । अब आजको एउटामात्र खेलपछि सबै टिमले ३६ खेल खेल्नेछन् । 

सातमध्ये शीर्ष तीन टिमले विश्वकप छनोट खेल्न पाउने, शीर्ष पाँच टिमले एक दिवसीय मान्यतालाई कायमै राख्न पाउने र पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने हुन्छन् । 

जसका कारण स्कटल्याण्ड ५० अंकसहित शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । तेस्रो स्थानका लागि आजको खेल महत्वपूर्ण छ । सबै खेल खेलेको नामिबियाको ३९ अंक छ । 

त्यस्तै एक खेल खेल्न बाँकी रहँदा नेपालको ३८ अंक छ । सबै खेल खेलेको अमेरिकाको ३५ अंक छ । एक खेल कम खेलेको यूएईको ३३ अंक छ । पुछारको पपुवा न्युगिनीको ११ अंक छ । 

नामिबियाको रन रेट ०।२९८ रहेको छ । नेपालको रनरेट ०।०९५ रहेको छ । यसले गर्दा नेपालले यो खेल जितेमात्र शीर्ष स्थानमा पुग्नेछ । बराबरीले भने रन रेट थोरैले माथि हुँदा नामिबियाले नै शीर्ष तीनमा रहने अवसर पाउने छ । 

त्यस्तै अमेरिकाको रन रेट माइनस ०।०४० रहेको छ । यूएईको माइनस ०।२२३ रहेको छ । जसले गर्दा सामान्य जितले मात्र यूएईले अमेरिकालाई उछिन्न सक्ने अवस्था देखिँदैन । 

पीएनजी भने पुछारमा रहेकाले बाहिरिइसकेको छ । यो अवस्था हेर्दा यूएईलाई जितले पनि एक दिवसीय मान्यता जोगाउन मुस्किल छ । नेपालले जित हासिल गर्दा शीर्ष तीनमा रहेर विश्वकप छनोट सिधै खेल्नेछ भने हार या बराबरीले त्यो अवसरबाट वञ्चित हुनेछ । 

कस्तो छ त मौसम आजको 

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार मैदान वरपरको अहिलेको मौसम सामान्य रहेको छ । आज घाम लाग्नेछ । 

आज वर्षा हुने सम्भावना कम रहेको छ । दिउँसो बादल लाग्ने अवस्था रहे पनि त्यसले पानी पार्ने सम्भावना भने छैन । 

तर मौसमविद् नगरकोटी यतिबाट मात्रै ढुक्क भएर पानी पर्दैन भन्न भने नसक्ने बताउँछिन् । 

उनका अनुसार प्रिमनसुन चलिरहेकाले स्थानीय वायुको प्रभावका कारण जुनसुकै बेला आइसोलेटेड वर्षा हुन सक्छ । 

उनले जुनसुकै बेला जुनसुकै ठाउँमा एकैछिन वर्षा हुने सम्भावनालाई नकार्न नसकिने बताइन् । आइसोलेटेड वर्षा भन्नाले काठमाडौंकै पनि धेरै मध्ये एक दुई ठाउँमा फाटफुट वर्षा हुन सक्छ । 

उनका अनुसार यही आइसोलेटेड वर्षाका कारण खेल लामो समय रोकिने सम्भावना भने हुँदैन । 

नेपाली टिमलाई हौसला–
आजको खेल निकै नै महत्वपूर्ण भएकाले खेलाडीहरुलाई भने हैसला थप्ने कार्यहरु भइरहेका छन् । 

नेपाल क्रिकेट संघ क्यानलेसमेत आजको खेलमा दर्शकको टिकटबाट उठेको रकम खेलाडी कल्याण कोषमा राख्ने घोषणा गरेको छ । 

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टि देसाईले सबै खेलप्रेमी क्रिकेट फ्यानलाई क्रिकेट मैदानमा आएर खेलाडीको हौसला बढाउन आग्रह गरेका छन् । 

केही बैंक तथा संस्थाहरुले खेलाडीहरुको मनोबल बढाउन विभिन्न पुरस्कार राशिको घोषणा गरेका छन् । 

क्रिकेटका १२ औं खेलाडी अर्थात् दर्शकको उल्लेख्य सहभागीता रहँदै आएकाले आज पनि निकै नै दर्शक जाने अनुमान छ । जसले नेपाली टिमको मनोबल अझै बढ्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ