arrow

रामसहाय यादव तेस्रो उपराष्ट्रपतिमा निर्वाचित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ३ शुक्रबार
ramsahaya-yadav-vice-president.jpg

काठमाडौं । रामसहायप्रसाद यादव मुलुकको तेस्रो उपराष्ट्रपति बन्न सफल भएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा भएको निर्वाचनमा जसपाका यादवले एमालेकी अष्लक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पराजित गरेका हुन् । 

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेश सभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् ।

निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य बोहराले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गरिन् । 

जनमतबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले प्रदेशतर्फ ७२० र संघतर्फ १ हजार ८१७ गरी २ हजार ५३७ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाएकी छिन् । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहाय बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेकी थिइन् ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत हुन् । उनी जसपाका संसदीय दलका नेतासमेत हुन् । 

उनी मुलुकको तेस्रो उपराष्ट्रपति बनेका छन् । यसअघि पहिलो उपराष्ट्रपति परमानन्द झा रहेका थिए । दोस्रो उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ