पोखरा । सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ ।
पर्यटन विभागका अनुसार बिहीबारसम्म पाँच समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् ।
विभागका अनुसार बिहीबारसम्म मनास्लु, अन्नपूर्ण प्रथम, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ ।
उनीहरुबाट ३८ लाख ९३ हजार रुपैयाँ रोयल्टी संकलन भइसकेको छ ।
विभागका अनुसार यी हिमाल चढ्न अनुमति लिनेमध्ये सबैभन्दा धेरै दक्षिण कोरियाका ६ जना छन् र अमेरिका र बेलायतका तीन/तीन जना छन् ।
नर्वे, मेसिडोनिया, रोमानिया र चीनबाट दुई/दुई जनाले अनुमति लिइसकेका छन् ।