arrow

सांसदहरुबीचमा राष्ट्रपति पौडेलको यस्तो प्रण [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ४ शनिबार
ramchandra-poudel-speech-president-2079-12-04.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति  संस्थाले  निर्वाह गर्ने भूमिकाले संविधान  र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही  निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गरेका छन् । 

आज बिहान संघीय तथा प्रदेशका सबै सांसदहरुलाई राष्ट्रपति कार्यालय शीतल निवासमा चियापानका लागि बोलाएर राष्ट्रपति पौडेलले सो प्रण गरेका हुन् ।  

संवोधनका क्रममा नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने  संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने उल्लेख गर्दै राष्ट्रपति पौडेलले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय  अभियानमा सरिक हुन सदैव तत्पर रहने बताएका छन् । 

यस्तो छ सम्बोधनको पूर्णपाठ  

सम्माननीय प्रधानमन्त्री ज्यू
सम्माननीय प्रतिनिधिसभाका सभामुख ज्यू
सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष ज्यू
माननीय उपप्रधानमन्त्री ज्यू
माननीय मन्त्री ज्यूहरु 
प्रदेशका माननीय  मुख्यमन्त्री ज्यूहरु 
प्रतिनिधिसभाका माननीय उपसभामुख ज्यू
राष्ट्रिय सभाका माननीय उपाध्यक्ष ज्यू
माननीय राज्यमन्त्री ज्यू
प्रदेश सभाका माननीय सभामुख ज्यूहरु
संघीय संसदका माननीय सदस्य ज्यूहरु
प्रदेश सरकारका माननीय मन्त्री ज्यूहरु
प्रदेश सभाका माननीय उपसभामुख ज्यूहरु
प्रदेश सरकारका माननीय राज्यमन्त्री ज्यूहरु
प्रदेश सभाका माननीय सदस्य ज्यूहरु

     सर्वप्रथम मेरो र राष्ट्रपति  कार्यालयको निमन्त्रणालाई स्वीकार गरी  उपस्थित हुनुभएकोमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु । नेपालको संविधानको धारा ६२ बमोजिम मलाई गणतान्त्रिक  नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित गराउनुहुने सम्पूर्ण संघीय संसदका सदस्यहरु र प्रदेशसभाका  सदस्यहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । 

सबैलाई थाहै भएको कुरा हो कि आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु हो  । नेपालमा  स्थानीय  तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सफलतापूर्वक  सम्पन्न भएकोमा यहाँहरु सवैमा बधाई  तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु । यस महत्वपूर्ण घडीमा मुलुकलाई यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सहिद तथा अग्रजहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संविधानको पालना र संरक्षण गर्ने विषय मेरो अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ  भन्ने  प्रष्ट पार्न चाहन्छु । गणतान्त्रिक नेपालको  राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको  व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु  र भविष्यमा पनि रहनेछु । 

राष्ट्रपति  संस्थाले  निर्वाह गर्ने भूमिकाले संविधान  र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही  निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु । 

नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधिनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने  संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् । 

राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय  अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु । 

संविधान निर्माण गर्ने प्रक्रियामा समेत सहभागी रहेर काम गर्ने  अवसर प्राप्त गरेको कारणले  पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहान्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुरा प्रति सदैव सजग रहने प्रण गर्दछु ।  

यो संविधानले नेपालका तमाम जनतालाई असीम अधिकार प्रदान गरेको छ ।  यसलाई जगेर्ना  गर्दै राष्ट्रलाई स्थायित्व दिनु हामी  सबैको परम कर्तव्य हो किनभने पटकपटकका नयाँ नयाँ प्रयोग नेपालले थाम्न पनि सहज नहोला । 
 
निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अंगिकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा तपाईं हामी सबै  सचेत हुनुपर्छ । लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरु बलिया र  कानुनसम्मत भएनन् भने त्यस्ता  संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ हामी सजग रहन जरुरी छ भन्नेमा म दृढ  छु । 

मुलुकमा अहिले पनि थुप्रै  चुनौतीहरु छन् । कोभिड माहामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ । संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखापर्न थालेका असरहररुको न्यूनिकरण तथा  राजनैतिक उपलब्धिहरुको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता  मैले देखेको छु । 

प्राप्त राजनैतिक उपलब्धिलाई सदुपयोग गर्दै तिव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा  अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ हामी सबै  गम्भिर हुन आवश्यक छ । 

अबको हाम्रो बाटो  दिगो शान्ति, विकास, सुशासन र समृद्धि  रहेको  र यसतर्फ संघीय सरकार तथा संघीय संसदका माननीयज्यूहरु र प्रदेश सरकार तथा प्रदेशसभाका माननीयज्यूहरुको सकारात्मक भूमिकाको अपेक्षा   गरेको छु । संघ, प्रदेश र स्थानीय तहका साथै नीजि क्षेत्रको समेत सहकार्यमा उच्चतम प्रतिफल प्राप्त गरी प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको  ईच्छा र आकांक्षा सम्बोधन गर्नुपर्नेतर्फ सबैको ध्यान जाने विश्वास समेत लिएको छु । 

मेलमिलाप र राष्ट्रिय एकताकै माध्यमबाट हामीले कठिन समयमा पनि  समस्याको सहज समाधान निकाल्न सकेको इतिहास मनन् गर्दै हामी सवै  एकतावद्ध हुन जरुरी छ । अन्त्यमा,  मलाई राष्ट्रपतिको रुपमा निर्वाचित गर्नु भएकोमा ह्रृदय देखि पुनः धन्यवाद दिन चाहान्छु । साथै चियापानमा सरिक भई दिनहुन अनुरोध छ । 
    


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ