arrow

१० बुँदे घोषणापत्र जारी गर्दै नेपाल-भारत साहित्य महोत्सव सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार

विराटनगर । दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल-भारत साहित्य महोत्सव सम्पन्न भएको छ । 

विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिकरुपमा सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक-अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ । 

त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।
 
आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टालाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षौंभरि दुवै देशमा विभित्र साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक-अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ । 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए । उनले आफू महानगरको नेतृत्वमा आएदेखि नै साहित्य महोत्सव गर्ने योजना बनाएको सुनाए । 

आगामी दिनमा थप व्यवस्थित र वृहत कार्यक्रम गर्ने उनको भनाइ थियो । “भौतिक विकासलाई मात्रै हामीले विकासका रुपमा लिने गरेका छौँ”, प्रमुख कोइरालाले भने, “भौतिकसँगै भाषा, साहित्य, कला र संस्कृतिको पनि विकास हुनुपर्छ । त्यसो भयो भने मात्रै समृद्धि र संस्कारयुक्त समाज निर्माण हुन्छ ।”
 
नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक तीन सय ५० भन्दा बढी साहित्यकारको सहभागिता रहेको थियो । महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा र कविगोष्ठीसमेत भएको थियो । महोत्सवमा दुई सय ५० भन्दा बढीले सिर्जना वाचन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ