arrow

प्रचण्डको विदेश भ्रमणः चीनको निम्तो रद्द, भारतबाट अझै आएन बोलावट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
prachanda-final1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण रद्द गरी भारत भ्रमणको प्रतिक्षामा बसेका छन् । नेपालस्थित चिनियाँ दूतावासले फागुन ८ गते प्रधानमन्त्रीलाई पत्र पठाई बोआओ फोरममा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको भए पनि प्रधानमन्त्रीले सो भ्रमण रद्द गरेर भारत भ्रमण गर्ने इच्छा जाहेर गरेका थिए । 

त्यसका लागि वातावरण तयार गर्न पूर्व अर्थमन्त्री जनार्दन शर्मा एकसाता अघि नयाँ दिल्ली पुगेर शनिबार नेपाल आइसकेका छन् । शर्माले एक साताअघि दिल्ली पुगेर वातावरण बनाएको भए पनि मिति भने तय गरेका छैनन् । 

प्रधानमन्त्रीले भारत भ्रमणको बेला तीन वटा जलविद्युत आयोजना सम्झौता गर्ने तयारीसमेत गरिसकेको भए पनि भारतले अहिलेसम्म औपचारिक निम्तो दिएको छैन । सदनमा विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रिपरिषद विस्तार लगत्तै भारत भ्रमण गराउने प्रधानमन्त्रीको सचिवालयको तयारी छ । 

भारतले निम्तो नदिँदै चीनको बोओओ फोरममा सहभागी हुने जवाफ दिएका प्रधानमन्त्री दाहालले चीन भ्रमण रद्द गर्नुलाई राजनीतिक दृष्टिले अर्थपूर्णरूपमा हेरिएको छ ।

 ‘सदनमा विश्वासको मत लिनुपर्ने, सरकार विस्तार लगायतका धेरै काम बाँकी रहेकाले बोआओ फोरममा भाग लिन जान नपाउनु भएको हो’, प्रधानमन्त्रीका एक स्वकीय सचिवले भने । 

उनका अनुसार चीनले बोआओ फोरममा सम्बोधन गरेलगत्तै औपचारिक भ्रमणको प्रस्ताव गरेको थियो । चीनको सो प्रस्तावमा समेत प्रधानमन्त्री दाहाल सकारात्मक थिए । 

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको भ्रमणको तयारी शुरु गरेको थियो ।  केहीदिन अघि प्रधानमन्त्री दाहालले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई बोलाएर आफू बोआओ फोरममा जान नसक्ने जानकारी गराएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री बनेपछि पहिला भारत भ्रमण कि चिन भ्रमण गर्ने भन्नेबारेमा प्रधानमन्त्री प्रचण्ड आफै दोधारमा रहेका थिए । प्रचण्ड प्रधानमन्त्री बनेपछि चीनले केरुङ नाकालाई सुचारु गरेर स्वागतको संकेत गरेको थियो । 

तर प्रचण्डले शुरुमा भारत भ्रमण गर्ने इच्छा व्यक्त गर्दै आएका थिए । उनले फागुन १९ को कताराको दोहा यात्रा पनि स्थगित गरे । त्यहाँ उनले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई पठाएर आफू गएका थिएनन् । 

प्रधानमन्त्री प्रचण्डले आन्तरिक राजनीतिक स्थायित्व पाइनसकेकाले आफू तत्काल चीन जान नसक्ने सन्देश पठाएर रद्द गरेको  स्रोतको दाबी छ । 

उनले चिनियाँ दूतावासमार्फत् बेइजिङलाई सो सन्देश पठाएका हुन् । प्रधानमन्त्री दाहालले बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी भएपछि बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्ने तयारी गरेका थिए । 

एसियाली मुलुकहरूबीच क्षेत्रीय सहकार्य बढाउने, विश्वमा एसियाली मुलुकहरूको प्रभुत्व बढाउने लगायतका उद्देश्य राखी सन् २००१ देखि बोआओ फोरम शुरु भएको हो । फोरमको बैठकमा आर्थिक, सामाजिक र सरकारका विविध पक्षमा छलफल हुने गरेको छ । 

प्रधानमन्त्री भएपछि एक भारतीय टेलिभिजनमा दिएको अन्तर्वार्तामा दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट शुरु हुने बताएका थिए । त्यसैको आधारमा प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले पनि भारत भ्रमणकै तयारी गरेको र त्यसको सन्देश भारतीय दूतावासमार्फत दिल्ली पठाएको भए पनि अहिलेसम्म भारत भ्रमणको मिति तय हुन सकेको छैन । 

चीनको हेनान प्रान्तमा मार्च २८ देखि ३१ सम्म बोआओ फोरमको सम्मेलन हुँदैछ । प्रधानमन्त्री दाहालले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भए पनि त्यसलाई रद्द गरिदिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ