arrow

क्रिकेटर करणसहित सुभाष, अर्जुन र दीपकराज सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ७ मंगलबार
Samman.jpg

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु-१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई सम्मान गरेको छ ।

यू-१९ विश्वकपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई जनही रू पाँच हजार नगदसहित सम्मान गरिएको हो ।

यस्तै, लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पुर्‍याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसीलाई मञ्चले रू २० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको हो । 

आइसिसी विश्वकप लिग टु का खेलमा केसीले कूल ५० विकेट लिएका थिए र साथै अन्य तीन जना खेलाडीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकपमा छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

उनीहरूलाई मञ्चका कार्यबाहक अध्यक्ष दिलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलगायतले सम्मान गरे । 

उक्त अवसरमा पोखरा क्रिकेट एकेडेमीका तर्फबाट चारै जना खेलाडीलाई जनही रू पाँच/पाँच हजार प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा मञ्चका कार्यबाहक अध्यक्ष गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

पोखरा रङ्गशालामा रहेको क्रिकेट मैदान छिट्टै स्तरोन्नति हुनुपर्ने उल्लेख गर्दै उनले रङ्गशालासहितका क्रिकेट रङ्गशाला स्तरोन्नति हुनसके पर्यटक खोज्न टाढा जान नपर्ने बताए । 

मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङले राज्यले के दियो भन्दा पनि खेलाडीले आफ्नो खेल जीवनले दिएको संस्कार बिर्सन नहुने बताए ।

“क्रिकेटले यतिबेला ठूलो उपलव्धि हासिल गरेको छ । यो हाम्रो लागि गौरवको विषय हो । यसलाई कायम गर्न खेलाडीले आफ्नो अनुशासनलाई कायम गर्दै आफूलाई समाजको विकासमा रुपान्तरणमा अघि बढाउनुपर्छ”, उनले भने । 

मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलाडीले आफूलाई अघि बढाउन अनुशासनसँगै प्रशिक्षकको निर्देशनलाई पालना गर्दै अघि बढ्नुपर्ने बताए ।

खेलकुदको माध्यमबाट पोखरालाई पर्यटनको हवको रुपमा विकास गर्न पोखरा विमानस्थलको जग्गालाई क्रिकेट स्टेडियमको रुपमा विकास गर्न आवश्यक रहेको उनले बताए ।

पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुँवरले नेपालले पाएकोे सफलताले गौरवान्वित बनाएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ