- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमका पूर्व सभापति एवं संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधन भएको छ । उनको हिजो ७४ वर्षको उमेरमा निधन भएको हो ।
उनी फोक्सोको क्यान्सर रोगबाट पीडित थिए । उनले विगत केही समयदेखि भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।
वि.सं. २०२७ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गर्नु भएका स्वर्गीय विमलीले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तेह्रथुमको सचिव, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य लगायतका विभिन्न सांगठनिक पदमा बसेर जिम्मेवारी निर्वाह गरेका थिए ।
२०५६ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी तेह्रथुम जिल्लामा पार्टीका तर्फबाट उम्मेदवार थिए ।
स्वर्गीय विमलीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी अग्रज नेतृत्वलाई गुमाएको जनाएको छ ।
उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन् — ‘नेपाली कांग्रेस तेह्रथुमका पूर्व सभापति एवं संविधान सभा सदस्य गणेशप्रसाद विमलीको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ । स्वर्गीय विमलीले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदान सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
राष्ट्रिय सभाले आजै शोक प्रस्ताव पारित गरेको छ ।