arrow

नेपाली पात्रो र तोयनाथ पञ्चाङ्गबीच सहकार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ९ बिहिबार
nepali-patro-toyanath-agreement.jpg

काठाडौं । विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्गमार्फत सेवा गर्दै आएको नेपालको पहिलो आधिकारिक सर्वाधिक विषयले सुसज्जित तोयनाथ पञ्चाङ्गबीच सहकार्यका लागि सम्झौता भएको छ ।

तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो । प्रविधिको विकास सँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।

“झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसंग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु । पुरानो पुस्ताको सटिक पञ्चाङ्ग गणितसँग आधुनिक पुस्ता जोडिन पाउनु आफैमा अद्भूत अनुभव हो । शताब्दीअघि वहाँहरुसँग उपलब्ध साधन, स्रोत तथा अध्ययनबाट हरेक दिनको सूर्योदय र सूर्यास्त होस् या यो दिन यति गते, यति बजेबाट सूर्य अथवा चन्द्र ग्रहण यो स्थानबाट देखिनेछ भन्ने पूर्वानुमानको सटिक नतिजा निकाल्ने हाम्रो आफ्नै मौलिक वैदिक सनातन विज्ञान कति अद्भूत छ भन्ने पुष्टि पनि गर्छ । यो सहकार्यले हाम्रो प्रयोगकर्तालाई क्यालेण्डरमा उपलब्ध शुद्ध र आधिकारिक जानकारीले लाभ दिनेछ”,  नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार देवकोटाले बताए । 

तोयनाथ पञ्चाङ्गका सम्पादक गुरु सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान(प्रदानको बहाना मिलेको बताए । “हाम्रो वैदिक सनातन ज्ञान असामान्य छ । हामी हरेकदिन प्रकृति, जिवजन्तु, कीरा–फट्यांग्रा, भूगोल, चन्द्र–सूर्य र अन्य ग्रहहरुले हामीलाई प्रदान गर्ने अनेक योगदानहरुका कारण यो अमूल्य जीवन बाँचिरहेका छौं । हाम्रो आफ्नै मौलिक सिद्धान्त छ जसले हामीलाई हाम्रो प्राचीन इतिहाससँग जोडिरहेको हुन्छ । र यो वैदिक सनातन पञ्चाङ्ग पनि तिनै सिद्धान्तहरुमध्येको एउटा सिद्धान्त हो जसको जगमा बसेर गुरु तोयनाथले १३५ वर्ष अघि यसलाई ‘तोयनाथ पञ्चाङ्ग’को रुपमा समाजसँग जोड्नु भयो । त्यो कालखण्डदेखि अहिलेसम्म नेपाली जनमानसले यस ‘तोयनाथ पञ्चाङ्गलाई’ विश्वास र माया गर्दै आउनुभएको छ । त्यही विश्वास र मायाको निरन्तरता स्वरुप युगअनुसार हामीले वर्तमान पुस्तामा क्यालेण्डर र पञ्चाङ्गको डिजिटल स्रोतका लागि सर्वाधिक लोकप्रिय मोबाइल एप ‘नेपाली पात्रो’सँग आधिकारिक डिजिटल पात्रोको रुपमा सहकार्य गरेका हौं ।”

नव वर्ष २०८० सालको क्यालेण्डर सहितको तोयनाथ पञ्चाङ्ग समेटिएको अपडेट ल्याउनका लागि अहिले नेपाली पात्रोको प्राविधिक टोलीले कार्य गरिरहेको देवकोटाले जनाए  । यही चैत्र महिनाभित्र तोयनाथ पञ्चाङ्ग समेटिएको नेपाली पात्रोको अपडेट सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ