arrow

विद्धानले त्यागे पार्टी

स्वर्णिमले चार कांग्रेसी नेतालाई पठाएको सन्देशले पार्टीमा हंगामा 

‘अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १६ बिहिबार
swarnim-wagle-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको जनाएका छन् । चार कांग्रेसी नेताहरुलाई सन्देश पठाएर उनले कांग्रेस छाडेको जनाएका हुन् । 

वाग्लेले कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै डा. शेखर कोइराला र डा. गोविन्दराज पोखरेललाई सन्देश पठाएर आफूले कांग्रेस छाडेको जनाएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेपछि वाग्लेले कांग्रेस छाडेको बताएका हुन् । उनले रास्वपाबाट टिकट पाउने पक्का भएसँगै कांग्रेस छाडेको बताएका हुन् । 

उनले आफूले कांग्रेस छाड्नुको प्रमुख कारण सभापति शेरबहादुर देउवा र देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजू राणा देउवालाई दोष लगाएका छन् । 

उनले चार नेतालाई लेखेको सन्देशमा लेखेका छन्, ‘हजुरहरुको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

वाग्लेलाई यसअघि मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनाउने धोको गगन थापाले पालेका थिए । एक विज्ञलाई जसरी पनि कांग्रेसले ठाउँ दिनुपर्नेमा उनको जोड थियो । 

गगनले वाग्लेलाई नै टिकट दिनका लागि भन्दै आफ्नो जितिरहेको स्थान काठमाडौं ४ पनि छाडेर मधेसबाट चुनाव लड्न तयार भएका थिए । 

तर देउवाले गगनले काठमाडौं ४ बाट नलडे अर्कै उम्मेदवारलाई टिकट दिने बताएसँगै गगन पछाडि हटेका थिए । त्यतिबेला देउवाले कुनै पनि हालतमा वाग्लेलाई टिकट दिन खोजेका थिएनन् । 

तर वाग्लेले अचानक अहिले पार्टी नै छाडेको निर्णय गरेसँगै कांग्रेसभित्र हंगामा मच्चिएको छ । 

देउवाले आफ्नो पार्टीबाट मन्त्री चयन गरिरहँदा आएको यो वाग्ले ‘करेन्टको भोल्टेज’ थाम्न गाह्रो भइरहेको छ । 

यस्तो छ चार नेताहरुलाई लेखेको सन्देश
प्रिय दाइ, 
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । 

यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ