arrow

पोखरा-३३ बागमाराकी शान्तिको हत्या भएको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १७ शुक्रबार
hatya-murder.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराकी ४२ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको खुलासा भएको छ । फागुन २१ गतेदेखि हराएकी श्रेष्ठ चैत १२ गते तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ मनहरि पिपलटारस्थित खानेपानी ट्याङ्कीभित्र मृत अवस्थामा भेटिएकी थिइन् ।

पोखराको अमरसिंहचोकमा फलफूल व्यवसाय गर्दै आएकी श्रेष्ठ हराएको भन्दै परिवारले कास्की प्रहरीमा फागुन ६ गते निवेदन दिएका थिए । तनहुँ प्रहरीले घटनाको अनुसन्धान गर्नेक्रममा उनको हत्या भएको पुष्टि गरेको हो । 

उनको हत्यामा संलग्न भएको आशंकामा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका वडा नं. ५ स्थायी घर भइ हाल पोखरा-७ घारीपाटनमा बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सुनारले श्रेष्ठको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवधेश विष्टले जानकारी दिए । 

श्रेष्ठले सुनारसंग पैसा सापटी लिएको र फिर्ता नदिएपछि सुनारले श्रेष्ठको टाउकोमा इट्टाले प्रहार गरि हत्या गरेको खुलेको एसपी विष्टले बताए । उनका अनुसार हत्यापछि श्रेष्ठको शव खानेपानी ट्याङ्कीमा फालिदिएको सुनारले स्वीकार गरेका छन् ।

प्रहरीका अनुसार गाडी चालकसमेत रहेका सुनार फलफूल लगायत अन्य खाद्यान्नको दुवानी गर्थे । सोही क्रममा उनको भेट शान्ति श्रेष्ठसँग भयो । चिनजानपछि उनीहरु घनिष्ठ भए । एकल महिलासमेत रहेकी श्रेष्ठले आफ्नो छोराको उपचारका लागि सुनारसँग १० हजार रुपैयाँ सापटी लिएको पाइएको प्रहरीले जनाएको छ । 

हत्या गरेपछि महिलासँग भएको गरगहना र मोबाइल पनि लुटिएको एसपी विष्टले बताए । सुनारले श्रेष्ठको गरगहना पोखराको महेन्द्रपुलस्थित रजनी सुनचाँदीका सञ्चालक रविनकुमार गहतराजलाई बिक्री गरेका थिए । गहतराजलाई पनि प्रहरीले पक्रेको छ । 

सुनारलाई तनहुँ प्रहरीले चैत १५ गते तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं. १ थप्रेकबाट पक्राउ परेको थियो । घटनामा संलग्न रहेकालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुसन्धान भइरहेको एसपी विष्टले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ