- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट शुक्रबारदेखि शुरु भएको छ । अहमदाबादमा रहेको विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साविक विजेता गुजरात टाइटान्सले विजयी शुरुआत गरेको छ ।
गुजरातले चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्यो । योसँगै गत सिजनमा डेब्यु गरेर उपाधि जितेको गुजरातले चेन्नईमाथि लगातार तेस्रो जित हासिल गरेको छ ।
घरेलु मैदानमा खेलेको गुजरातले चेन्नईले दिएको १७९ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रन बनाए ।
विजय शंकरले २१ बलमा २७ तथा रिद्धिमान शाहले १६ बलमा २५ रन बनाए । इम्प्याक्ट प्लेयर (आईपीएलमा पहिलो पटक प्लेइङ ११ मा नभएका खेलाडीलाई सट्टामा लिन पाइने व्यवस्था) का रुपमा केन विलियम्सको स्थानमा मौका पाएका साइ सुदर्शनले १७ बलमा २२ रन बनाए ।
राशिद खानले ३ बलमा अविजित १० तथा राहुल तेवातियाले १४ बलमा अविजित १५ रन बनाए ।
चेन्नाईका लागि आईपीएल डेब्यु गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको हो ।
ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रन बनाए ।
मोइन अलीले २३, शिबम दुवेले १९ तथा कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा अविजित रहँदै १४ रन बनाए ।
घरेलु टोलीका लागि मोहम्मद शमी, अल्जारी जासेफ र प्लेयर अफ द म्याच राशिद खानले समान २–२ विकेट लिए ।
आयरल्यान्डका बलर जोश लिटिलले आईपीएलमा डेब्यु गर्दै १ विकेट थिए । लिटिल आईपीएल खेल्ने आयरल्यान्डका पहिलो क्रिकेटरसमेत हुन् ।
पहिलो खेलमा जित हात पारेको गुजरात १० टोली सहभागी रहेको प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । हारसँगै चेन्नई सुपर किंग्स पुछारमा रहेको छ ।
१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा १, मुम्बई इन्डियन्स, २, कोलकाता नाइट राइडर्स, ३, राजस्थान रोयल्स, ४, दिल्ली क्यापिटल्स र ५, लखनाउ सुपर जायन्ट्स रहेका छन् ।
समूह बी मा १, चेन्नाई सुपर किंग्स, २, सनराइजर्स हैदराबाद, ३, गुजरात टाइटान्स, ४, रोयल च्यालेन्जर्स बेंग्लोर र ५,पन्जाब किंग्स रहेका छन् ।
आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २–२ तथा अर्को समूहका बाँकी टोलीसँग १–१ खेल हुनेछ ।
यसका अनुसार लिग चरणमा हरेक टोलीले १४–१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मेसम्म जारी रहने छ ।
उद्घाटन
यसअघि भव्य रुपमा आईपीएलको उद्घाटन गरिएको थियो ।
चार वर्षपछि पहिलो पटक भएको उद्घाटनमा साउद अभिनेत्रीहरु रस्मिका मन्दना र तमन्ना भाटियाले नृत्यले लोभ्याए भने अरिजित सिंहले गीत गाएर लठ्ठ पारे ।
एक लाख भन्दा बढी दर्शकले उद्घाटन र पहिलो खेल हेरेका थिए ।
आजका खेलहरु
आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ः४५ बजे पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्ससँग खेल्नेछ ।
दोस्रो खेलमा लखनउ सुपर जाइन्टसले दिल्ली क्यापिटल्ससँग खेल्नेछ ।