arrow

जो पुरुषसँग खेल्छिन् रेस्लिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १९ आइतबार
raceling-mahila.JPG

काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो ।

आफूलाई ‘लेडी ड्र्यागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हो– जो पुरुषसँगै खेल्छिन् । उनी महिला रेस्लरभन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आएकी छन् । खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छन् ।
  
“रेस्लिङ हेर्दा थोरै वास्तविकता धेरै नाटक भन्ने आम मानिसलाई लाग्न सक्छ तर मैले खेल्ने रेस्लिङ मनोरञ्जन नभई पूरै वास्तविकता हुन्छ”, नेपाली रेस्लर मुना भन्छिन् । महिलाले महिलासँग खेल्ने खेलाडी त धेरै छन् तर हाम्रो समाजमा महिलाले पनि पुरुषसरह खेल्न सक्छन् भन्ने उदाहरण दिनका लागि पनि आफूले पुरुष रेस्लरसँग खेल्ने गरेको उन बताउनुहुन्छ । त्यसो त उनसँग महिला खेल्न पनि मान्दैनन् ।

सन् २०१७ देखि खेल्न सुरु गरेकी मुनाले विशेषगरी तीन विधामा रेस्लिङ खेल्दै आएकी छन् । यसमा हार्डकोर (साइन गरेर खेल्ने), फायर म्याच (आगोमा खेल्ने) र ब्लड म्याच छन् । यी तीनै खेल निकै कठिन हुने र ज्यानको बाजी राखेरै खेल्नुपर्ने उनको अनुभव छ ।

हाम्रो नेपाली समाजमा पुरुषभन्दा महिला केहीमा कम छैनन् भन्ने उदाहरणीय कामका लागि पनि पुरुष रेस्लरसँग बढी खेल्ने गरेको उनको भनाइ छ । उनले खेल्ने हरेक खेल नाटकीय नभई यथार्थपरक हुने गरेको छ ।

उनले हार्डकोर, फायर म्याच र ब्लड म्याच विधाको खेलमा पुरुष रेस्लरसँगै खेल्दै आएकी छन् । उनको अनुभव छ कतिपय देशका महिला खेलाडी पनि उनसँग खेल्न डराउँछन् । त्यसकारण पनि उन पुरुषसँग खेल्नुपर्ने हुन्छ ।

विशेषगरी रेस्लिङ मनोरञ्जनमुखी खेल भएका कारण हार्डकोर खेल्ने खेलाडीसँग खेल्न अन्य महिला रेस्लर रुचाउँदैनन् र सक्दैनन् पनि । हार्डकोर मनोरञ्जनभन्दा पनि वास्तविक हुन्छ र यो कठिन हुन्छ । यस खेल खेल्नुअघि पहिला नै खेलाडीलाई खेल दौरान रिङमा केही भइहाले वा ठूलै चोटपटक लागेमा खेलाडीको परिवारले खोज्न या विरोध गर्न पाउँदैन भनेर सुरुमै हस्ताक्षर गराएको हुन्छ । त्यसकारण पनि स्वदेशी तथा विदेशी महिला रेस्लरले उनसँग खेल्न नमान्ने उनको भनाइ छ ।

“रिङमा कुटाकुट गरेको दृश्य देख्दा दर्शक जति उत्साहित हँुदै ताली पिट्छन् त्यति नै रिङमा आफूले जोखिम उठाउनुपर्ने हुन्छ, कहिलेकाहीँ त ज्यानै जाने सम्भावना पनि हुन्छ । यसकारण पनि महिला खेलाडी यस खेलमा त्यति उत्साहित छैनन्”, उनको अनुभव छ ।

कतिपय खेलमा त रगतको धारा बगेको र त्यो निको हुन महिनौँ लागेको अनुभव पनि उनीसँग छ । यसका बाबजुद पनि उन देशको नाम राख्न हरदिन मेहनत गर्छिन् । अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भेट्टाएसम्म छोड्दिनन्।



नयाँ