arrow

करको दायरा बढाउन नागरिकतासँगै प्यान कार्ड दिन चेम्बरको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २१ मंगलबार
chamber-finance-minister-mahat-meet.jpg

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष करको दायरा बढाएर राजश्व सङ्कलनको लक्ष्य पुरा गर्नुपर्ने धारणा व्यक्त गरेको छ। अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग बधाई भेटवार्ता गरेको हो।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करको दर वृद्धि गर्नु भन्दा करको दायरा बढाइनु पर्दछ। यसका लागि नागरिकतासँगै प्यान कार्डको पनि व्यवस्था गरिनुपर्दछ।’

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सीमामा हुने अवैध व्यापार लाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिए। बिल लिने-दिने व्यवस्थालाई पनि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने अध्यक्ष मल्लले जोड दिए।

चेम्बर पदाधिकारीसमक्ष अर्थमन्त्री डा.महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताए। बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको अर्थमन्त्री महतको भनाई छ।

उनले भने, ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले गभर्नर महाप्रसाद अधिकारी लगायत सरोकारवाला निकायका सचिवहरूसँग पनि छलफल गरिरहेको छु।’

लक्ष्य अनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरूसँग आफूले जानकारी लिइरहेको डा महतको भनाई छ। आगामी आर्थिक वर्षबाट अर्थतन्त्रले लय समाउने उनले बताए।

नवनियुक्त अर्थमन्त्री डा. महतसमक्ष चेम्बरले समसामयिक आर्थिक विषयमा विभिन्न १७ बुँदामा सुझाव समेत दिएको छ। अर्थमन्त्रीलाई सुझाव दिने क्रममा चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न समेत आग्रह गरे।

यस्तै अध्यक्ष मल्लले तरलता अभावलाई व्यवस्थित गर्नका लागि पुँजीगत खर्चमा टाइम बाउण्ड एक्सन प्लान बनाई कार्यान्वयन गरिनु पर्नेमा जोड समेत दिए। पुँजीगत खर्च कार्यान्वयनको अवस्थाबारे त्रैमासिक पुनरावलोकन गरी कार्यान्वयन गरिनु पर्ने उनको भनाई छ।

चेम्बरले रेमिट्यान्सको पैसालाई उत्पादन मूलक क्षेत्रमा लगानी प्रोत्साहन गर्न समेत आग्रह गरेको छ। चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रेमिट्यान्सबाट भित्रने रकमको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। यस्तो परिस्थितिमा बैङ्किङ च्यानल मार्फत मुलुक भित्रने रेमिट्यान्सलाई ऊर्जा लगायत पूर्वाधार तथा उत्पादन मुलुक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न आवश्यक छ।’

चालु पुँजी मार्ग निर्देशनलाई निजी क्षेत्र, विज्ञ समूह, तथा सरोकारवाला निकायसँग विस्तृत छलफल पछि मात्रै कार्यान्वयनमा ल्याउन समेत चेम्बरले जोड दिएको छ।

चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष मल्ल सहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षहरू दीपक कुमार मल्होत्रा, सुरेन्द्र कुमार श्रेष्ठ, दीपक श्रेष्ठ र उर्मिला श्रेष्ठ लगायतका कार्यसमिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा. महतलाई बधाई एवं शुभकामना दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ