arrow

वाग्लेको अपरिपक्व राजनीति

logo
कृष्ण हुमागाँई, 
प्रकाशित २०७९ चैत २१ मंगलबार
krishna-humagai-jhapa.jpg

यो साता नेपाली कांग्रेस पार्टी भित्रको राजनीतिमा युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टी परित्याग गरेको घटनाले खुब चर्चा पायो । नेपाली कांग्रेस पार्टीबाट उपचुनावमा टिकट लिएर सांसद बन्ने सोचाइमा रहेका वाग्लेको त्यो इच्छन पूरा नहुने भएपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँबाट चुनाव लड्ने भएका छन् । 

हुन त वाग्लेले २०५९ मंसिर ४ मा भएको उपचुनावमा नै कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा टिकटको आश गरेका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलसँगको गठबन्धनका कारण १६५ प्रत्यक्षतर्फको सिटमध्ये कांग्रेसले ९० स्थानमा मात्र उम्मेदवर उठाउन पाउने भएपछि सिट संख्या घटेकोले वाग्लेको सपना पूरा हुन पाएन ।

हुन त वाग्लेलाई कांग्रेसले टिकट दिएर अन्य पार्टीमा जानबाट रोक्नु पर्दथ्यो भन्ने मत पनि कांग्रेसवृत्तभित्र रहेको छ । टिकट नपाउँदैमा अर्को पार्टीमा जानेलाई नदिएकै ठीक । आफ्नो स्वार्थ अनुकूल नहुनासाथ पार्टीलाई धोखा दिन सक्नेले जिम्मेवारी पाएको अवस्थामा झन् बार्गेनिङ गर्ने थिए भन्ने मत झन् बलियो रहेको छ । 

पार्टीले वाग्लेलाई जिम्मेवारीबाट बञ्चित गरेको पनि हैन । उनलाई राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, घोषण पत्र लेखन समितिको सदस्य र आर्थिक फाँटमा जिम्मेवारी दिएकै हो । राज्य मन्त्री सरहको सेवा सुविधासहित राष्ट्रपतिको आर्थिक विज्ञका रुपमा पनि नियुक्ति दिने तयारी थियो । वाग्लेले नै मन्त्री सरहको पोर्टफोलियो भए मात्र सल्लाहकार हुन्छु, नत्र हुँदिन भनेर निहुँ खोजेका हुन् । 

कांग्रेस देश र जनताका लागि सर्वश्वहरण भएका, जेल, नेल, यातना र निर्वासन भोगेका लाखौं लाख नेता कार्यकर्ता भएको पार्टी हो । लामो राजनीतिक इतिहास भएको पार्टी, हजारौं शहीदहरुको बलिदानीले निर्माण भएको पार्टीमा अवसरको खोजीमा आउने र जाने ‘मुसाफिर’हरु आइरहन्छन्, गइरहन्छन् । 

हिजो तुलसी गिरी, पर्शुनारायण चौधरी, बिश्वबन्धु थापाहरुले बीपीलाई धोखा दिएकै हुन् । पछिल्लो समयमा विजय गच्छदार, जेपी गुप्ता, सरदसिंह भण्डारीहरुले पनि गिरिजाबाबुलाई धोखा दिएकै हुन् । 

तीमध्ये कति कांग्रेसमा पुनः फर्किए भने केही हराए बिलाए । तसर्थ राजनीति एउटा निश्चित लक्ष्य लिएर देश र जनताका लागि निस्वार्थ भावले गरिने सेवा हो । मैले भनेजस्तो भएन, मैले पाइन, मलाई थोर भो, भन्ने हो भने यहाँ फगत कसले टिकट पायो वा पाएन, को मन्त्री बन्यो वा बनेन भन्ने कुराले खास अर्थ राख्दैन अहिलेको देशको महासंकटको बेला ।

मलाई यो भएन र त्यो भएन भनेर घुर्की लगाउनेहरुले सोचुन् कि ती गरिब–निमुखा, भोका नङ्गा जनताले के पाए ? दुःखी गरिब जनताको चुल्हो कसरी बल्दैछ कि बलेको छैन ? धनी झन् धनी र गरीब भन्–झन् गरीब हुने यो देशमा वाग्लेजीहरु जस्ताअर्थविद्ले सोचुन् कि– गरिब जनता जो छन्, उनीहरुलाई के प्राप्ति भयो र लाखौं–लाख भोट कांग्रेसलाई रुख चिन्हमा हालिरहेका छन् ।
          
२०४६ सालको परिवर्तन पश्चात नेपालका पार्टीहरुलाई नातावाद, सिण्डकेट र बिचौलिया दलालहरुमार्फत चलाउने र निष्ठावान नेता कार्यकर्ताको तेजोवध गर्ने, गराउने खेल हुँदै आएको बारम्बार चर्चाहरु नसुनिएको होइन । हो पार्टीमा मूल्याङ्कन, न्याय र सन्तुलनको अभाव निश्चय पनि छ । जनतामा आधारित र स्थापित पार्टी भनेको समुद्र जस्तै हो । त्यहाँ अनेक चिजबस्तु बगेर आउँछन् । मोती पनि त्यहीँ, सिनो, फोहर पनि त्यहीँ हुन्छ । 

चिन्न र छुट्याउन जान्नेले मोती टिप्छ । नजान्ने, नसक्नेले त्यहाँ फोहर मात्र देख्छ । आजको दुनियाँ ब्यक्तिगत स्वतन्त्रतासहितको बहुदलीय प्रतिष्पर्धात्मक राजनैतिक प्रणलीबाट अघि बढिरहेको छ । दुनियाँका अरु विकसित राष्ट्रहरुले लोकतान्त्रिक शासन प्रणालीबाटै देशको विकास गरेका छन् । दोष पार्टी र पार्टी प्रणालीलाई होइन यो प्रणाली चलाउन खोज्ने बेढङ्गेहरुकाप्रति हुनुपर्छ ।

तर वाग्लेले त्यहीँ बसेर संघर्ष गर्ने साहस र हिम्मत राख्नु पर्दथ्यो । नेपालको सन्दर्भमा दुनियाँले पत्याएको भरपर्दो अन्तर्राष्ट्रिय समुदायले पत्याएको जनतामा आधारित लोकतान्त्रिक पार्टी नै छैन नेपाली कांग्रेस बाहेक जसको लामो र गौरबमय इतिहास होस् । इतिहासका अनेक कालखण्डमा नेपाली कांग्रेसले गरेको क्रान्ति, देशका सबै परिवर्तनहरुमा गरेको नेतृत्वदायी भूमिका,  क्रान्ति र शान्तिमा अहम भूमिका निभाउने अहिंसावादी पार्टीको आत्म गौरव त वाग्लेले रविको पार्टीमा गर्न पाउने छैनन् नै । 

पछि फेरि वाग्ले नेपाली कांग्रेसमा पुनः समाहित हुने नै छन् । अहिलेलाई पार्टी नै छोडेर त्यसमाथि रवि लामिछानेलाई वीपीसँग तुलना गर्दै पार्टी छोड्ने जुन काम गरे त्यो अपरिपक्व राजनीतिको उपज हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ