- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । सतप्रतिशत नतिजा निकाल्ने क्रममा पन्जाबले राजस्थान रोयल्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको हो ।
बुधबार राति गुवाहाटीमा भएको खेलमा राजस्थान पाँच रनले पराजित भएको हो । पन्जाबले दिएको १९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाउन सक्यो ।
राजस्थानका कप्तान सन्जु सामसनले २५ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । शिम्रन हेटमायर १८ बलमा ३६ रन बनाउँदा ध्रुब जुरेल १५ बलमा ३२ रनमा अविजित रहे । देवदत्त पाडिक्कल २१ र रियान पराग २० रनमा आउट भए ।
पन्जाबका तीव्र गतिका बलर नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अर्शदीप सिंहले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेट गुमाउँदै १९७ रन बनाएको थियो ।
पन्जाबका लागि कप्तान शिखर धवन र प्रभसिमरन सिंहले अर्धशतकीय इनिङ्स खेले । धवनले ५६ बलमा ९ चौका र ३ छक्कासहित अविजित ८६ रन बनाए ।
अर्का ओपनर सिंह ३४ बलमा ७ चौका र ३ छक्कासहित ६० रनमा आउट भए । पहिलो विकेटका लागि धवन र सिंहले ९० रनको साझेदारी गरेका थिए ।
राजस्थान रोयल्सका जेसन होल्डरले २ तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १–१ विकेट लिए ।
आजको खेल
आज एउटामात्र खेल हुँदैछ । कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ । खेल बेलुकी ७ः४५ बजे इडन गार्डेनमा हुनेछ ।
अंक तालिका
२ खेलबाट ४ अंकका साथ गुजरात टाइटान्स र पन्जाब शीर्ष दुईमा रहेका छन् । १ खेलबाट २ अंकको बैंगलोर तेस्रो स्थानमा छ ।
२ खेलबाट २ अंकका राजस्थान, लखनउ सुपर जाइन्टस् र चेन्नई सुपर किंग्स क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।
कोलकाता, दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले अंकको खाता खोलेका छैनन् ।